२०८२ कार्तिक २९ गते, शनिबार ०९:०६

राष्ट्रको लागि झरेका आँसु

– एल.डि.खड्का

भाद्र २३ गतेको बिहान देशले एउटा नयाँ इतिहास लेख्यो। युवा पुस्ताले उठाएको “भ्रष्टाचार विरोधी आन्दोलन” केवल केही नेताको पदत्यागको माग थिएन, यो त दशकौंदेखि सडेको राजनीतिक प्रणाली र बेथितिको विरुद्ध नागरिक आत्माको आक्रोश थियो। तर, दुर्भाग्यले, त्यो आवाजलाई सुन्नुको सट्टा सरकारले बन्दुक र गोलीले जवाफ दियो। केपी शर्मा ओली नेतृत्वको सरकारले आन्दोलनमाथि दमन गरेर केवल युवाको रगत बगाएन, मुलुककै भविष्यलाई आगोमा होमिदियो।

दर्जनौं कलिला युवाहरू सडकमा ढले-शान्तिपूर्ण प्रदर्शनको अन्त्य गोलीको गर्जनमा भयो। त्यो क्षणले देशका प्रत्येक नागरिकलाई झस्कायो। नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले त्यही दिन राजीनामा दिनु पर्थ्यो, क्षमायाचनासहित जनताका सामु आउनु पर्थ्यो। तर सत्ता मोहको मदले उनको विवेक हरायो। गृहमन्त्रीले क्षणिक संवेदना देखाए पनि, सरकारले त्यसको ठट्टा गर्‍यो। भाद्र २४ गते बिहानै देशभर कर्फ्यु आदेश जारी गरियो।

तर जनता डराएनन्। युवाको रगतले सडक भिजिसकेपछि जनभावनाको बाँध फुटिसकेको थियो। आक्रोशित नागरिक स्वस्फूर्त सडकमा निस्किए-कोही विरोधमा, कोही पीडामा। कर्फ्यु तोडेर आम जनसागर राजधानीमा उर्लियो। सुरुमा शान्त नाराबाजी थियो, तर सरकारको मौनता र उपेक्षाले त्यो क्रोधमा बदलियो। भीडले नियन्त्रण गुमायो-सरकारी भवन, पार्टी कार्यालय, नेताका घरहरू, सबै आक्रोशको निशाना बने।

सयौं नेताका घरहरूमा आगो सल्कियो। कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणामाथि जनाक्रोशको सिधा प्रहार भयो। त्यो दृश्यले सत्ता गलियारामा भूकम्प ल्यायो। अन्ततः प्रधानमन्त्री ओलीले पनि स्थितिलाई नियन्त्रण गर्न नसकेपछि राजीनामा दिए र प्रधानमन्त्री निवास छोडेर भागे, तर, तबसम्म देश ‘नियन्त्रण’ भन्ने शब्दभन्दा टाढा पुगिसकेको थियो।

सुरक्षाकर्मीहरू आफ्नै ज्यान जोगाउन हतियार छोडेर भाग्न बाध्य भए। कैयौं प्रहरी चौकी र कार्यालयहरूमा आगो लगाइयो। देशको न्यायालय,सर्वोच्च अदालत सम्मलाई भीडको आक्रोशले छोयो। अनि जले सिंहदरबार, जसको ढोका र गजुरले नेपाल राज्यको गौरवको प्रतीक बोकेको थियो। त्यो रात, सिंहदरबारको जल्दै गरेको आगोले आकाश रातो बनायो। टेलिभिजनका पर्दामा बलिरहेको ऐतिहासिक भवन हेर्दा लाखौं नेपालीको आँखाबाट आँसु बगिरह्यो।

त्यो आँसु केवल इँटाको भवनका लागि थिएन, त्यो त आफ्नो पहिचान, गौरव, र अस्तित्व जलेको पीडा थियो। कसैले कल्पना गरेकै थिएन कि एकदिन नेपाली नागरिक आफ्नै देशको आत्मा बलिरहेको हेर्न विवश हुनेछन्।

रातभरि देश निदाएन। सामाजिक सञ्जालदेखि गाउँका चौतारासम्म एउटै कुरा गुञ्जियो“, हाम्रो देशलाई के भयो?” वृद्धहरू भन्दै थिए, “हामीले पञ्चायत र जनआन्दोलन देख्यौं, तर यस्तो दिन कहिल्यै देखेनौं।” युवाहरूको अनुहारमा क्रान्तिको सपना थिएन, केवल शोक र निराशा थियो।

सिंहदरबार बलिरहेको दृश्यले चेतनशील प्रत्येक हृदय हल्लायो। त्यो आगो केवल भवनको होइन, नेपाली लोकतन्त्रको प्रतीकात्मक मृत्यु जस्तै थियो। जब सिंहदरबार भस्म भयो, नागरिकको भरोसा पनि खरानी भयो।

राजनीतिक स्वार्थ र विदेशी प्रभावबीच नेपालको सार्वभौमिकता फेरि परीक्षणमा परेको छ। ठूला शक्ति राष्ट्रहरू नेपाललाई आफ्नो हितअनुसार मोड्न तत्पर देखिन्छन्। राजनीतिक अस्थिरता र जनआक्रोशको आगोमा उनीहरूले अवसर देखेका छन्। यो केवल सरकारको असफलता होइन, हाम्रो सामूहिक जिम्मेवारीको विफलता हो।

हामी त्यस घटनालाई फर्केर हेरौं, आँसु रोकिँदैन। तर त्यो आँसु कमजोरीको होइन, चेतनाको प्रतीक हो। त्यो आँसुले हामीलाई सम्झाउँछ-राष्ट्र केवल सीमाना र भवनले बनेको हुँदैन; यो त नागरिकको सपना, भरोसा र बलिदानको जगमा उभिएको आत्मा हो।

अब आवश्यकता छ। रगतले होइन, विचारले परिवर्तन ल्याउने। सडकमा आगो होइन, आत्मामा प्रकाश जलाउने। जनताले राष्ट्रको दिशा तय गर्ने समय आएको छ।

राष्ट्र बल्दा, हामीले देख्यौं-राजनीति असफल भयो, तर नागरिक चेत जागृत भयो। सिंहदरबार जलेको रात हामी सबैका आँखाबाट झरेका आँसु अब राष्ट्रिय पुनर्जागरणको बीउ बन्न सक्छन्। यदि हामीले त्यस पीडालाई शक्तिमा रूपान्तरण गर्न सक्यौ भने।

नेपाल पुनः उठ्न सक्छ, यदि हामी सबैले त्यो रात सम्झिँदै आजको बिहानलाई उत्तरदायी बनायौं भने। किनकि देश त त्यही हो, तर नागरिकको आत्मा जागृत भइसकेको छ ।राष्ट्रका लागि झरेका ती आँसु-अब आशाको वर्षा बन्ने छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM