२०८३ बैशाख १९ गते, शनिबार ०२:१६

वीरगंजमा सुन व्यवसायीको घरमा छापा, स्रोत नखुलेको ठूलो परिमाणको सुन बरामद

वीरगंज, असोज २७/ वीरगंजस्थित एक सुन व्यवसायीको घरमा राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगंज भन्सार कार्यालयलगायतका निकायको संयुक्त टोलीले गरेको छापामा ठूलो परिमाणमा स्रोत नखुलेको सुन बरामद गरिएको छ।

विश्वसनीय स्रोतका अनुसार, माईस्थानस्थित व्यवसायी अभिषेक सर्राफको घरमा सोमबार बिहानदेखि सुरु भएको छापामारी दिउँसो अबेरसम्म जारी रहेको छ। छापा टोलीले घरभित्र विभिन्न कोठा र सुरक्षित स्थानहरूमा लुकाइएका सुनचाँदीका गहना र बन्धकी राखिएका अन्य बहुमूल्य वस्तुहरू समेत बरामद गरेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद सुनको स्रोतबारे स्पष्ट विवरण नआएको र कागजातसमेत प्रस्तुत गर्न नसकिएको जनाइएको छ। छापा टोलीले बरामद सामग्रीलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाउने भएको छ ।

स्रोतका अनुसार फूलको गमला, केही कोठा र सुरक्षित ठाउँहरूमा अझै खोजतलासी बाँकी छ।

स्रोतका दाबी अनुसार, उक्त घरमा उपभोक्ताले धितो राखेका सुनचाँदीका गहना बाहेक, कारोवारका लागि लुकाइएका ठूलो मात्रामा सुन भेटिएको हो। प्रारम्भिक अनुमानअनुसार बरामद सुनको मूल्य करोडौँ रुपैयाँमा पुग्ने बताइन्छ।

छापा कार्यमा सशस्त्र प्रहरी बल नेपाल, वीरगंज भन्सार कार्यालय, र राजस्व अनुसन्धान कार्यालय पथलैयाको संयुक्त टोली संलग्न रहेको पुष्टि गरिएको छ।

छापामारीपछि वीरगंजमा सञ्चालित सुन व्यवसाय र त्यससँग जोडिएका शंकास्पद कारोवारमाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय व्यवसायीहरूबीच पनि यो घटनाले ठूलो हलचल मच्चाएको छ।

स्रोतका अनुसार, छापा टोलीले प्रारम्भिक प्रमाण संकलनपछि थप कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

थप विवरणका लागि अनुसन्धान जारी रहेको बताईन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM