२०८२ आश्विन २५ गते, शनिबार १५:३०

अफवाहमा नपरी आधिकारिक सूचनामात्रै विश्वास गर्न नेपाली सेनाको अपील

काठमाडौं/पछिल्ला दिनमा सामाजिक सञ्जालहरूमा नेपाली सेनासँग सम्बन्धित विभिन्न अभिव्यक्ति र टिप्पणीहरू सार्वजनिक भइरहेका सन्दर्भमा नेपाली सेनाले आधिकारिक सूचना बाहेकका सामग्रीप्रति अविश्वास गर्न सबैलाई अपिल गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाद्वारा शुक्रबार जारी प्रेस नोटमा भदौ २३ र २४ गतेका घटनाहरूको विषयमा सञ्चारमाध्यम र सर्वसाधारणले देखाएको बुझाइ तथा चासोप्रति सेनाले आभार व्यक्त गरेको छ। सेनाले आफ्नो प्राथमिक जिम्मेवारी मुलुकको सुरक्षा, सार्वभौमिकता र स्थायित्व सुनिश्चित गर्नु भएको उल्लेख गर्दै यस्ता संवेदनशील विषयमा अफवाह र भ्रम फैलाउने क्रियाकलापबाट टाढा रहन सबै पक्षलाई अनुरोध गरेको छ।

प्रेस नोटमा भनिएको छ, “आतङ्ककारी सुरक्षासम्बन्धी असत्य र अतिरञ्जित विषयवस्तुहरूले भ्रम उत्पन्न गरिरहेका छन्। यसले राष्ट्रिय सुरक्षामा अनावश्यक प्रभाव पार्न सक्ने भएकाले नेपाली सेनाले आवश्यकताअनुसार वास्तविक तथ्य सार्वजनिक गरिरहेको छ।”

सेनाले हालका परिस्थितिलाई जोडेर विभिन्न सामाजिक सञ्जालमार्फत संस्थाको नेतृत्व र कार्यशैलीमाथि गरिएको टिप्पणी तथा धारणा सेनाको ध्यानाकर्षणमा आएको जनाएको छ। सेनाको भनाइअनुसार, “नेपाली सेना आफ्नो निर्धारित नीति, नियम र प्रक्रियाअनुसार सञ्चालित रही प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक माध्यममार्फत मात्र सूचना सार्वजनिक गर्दछ।”

त्यसैगरी, नेपाली सेनाले आफ्ना गतिविधि र जानकारीहरू बुझ्न चाहने आम नागरिक, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई जनसम्पर्क तथा सूचना निर्देशनालयसँग प्रत्यक्ष सम्पर्क गर्न वा सो निर्देशनालयका आधिकारिक माध्यम प्रयोग गर्न आग्रह गरेको छ।

प्रेस नोटमा भनिएको छ, “सही, यथार्थपरक र विश्वसनीय सूचना प्राप्तिका लागि नेपाली सेनासँग प्रत्यक्ष सम्पर्क गरी तथ्यमा आधारित जानकारी लिनु नै जिम्मेवार नागरिकको पहिचान हो।”

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM