काठमाडौँ । विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखतबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्।
गत शुक्रबार कम्पनीका अध्यक्ष तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई शाहीले राजीनामा बुझाएका हुन्। उनले स्वास्थ्यमा समस्या बढेकाले जिम्मेवारी निर्वाह गर्न कठिन भएको कारण देखाउँदै पद त्यागेको बताए पनि ऊर्जा मन्त्री कुलमान घिसिङले दिएको अनावश्यक दबावका कारण शाहीले राजीनामा दिएको स्रोतले जनाएको छ।
“चिकित्सकले मलाई तनावमुक्त रहँदै केही समय आराम गर्न सिफारिस गर्नुभएको छ। त्यसैले स्वास्थ्यलाई प्राथमिकता दिँदै पद छोड्ने निर्णय गरेको हुँ,” शाहीले बताए।
निजी क्षेत्रका करिब एक दर्जन जलविद्युत् आयोजनामा प्रमुख भूमिका निर्वाह गरेका शाही २०८० साउन १८ गते खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत भीयूसीएलको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।