काठमाडौं । ४६औँ विश्व पर्यटन दिवसको अवसरमा जिल्ला होटल व्यवसायी संघ काठमाडौंले शनिबार पशुपतिनाथ मन्दिर परिसर र वनकाली क्षेत्रको सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा होटल व्यवसायी महासंघ, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश, जिल्ला होटल व्यवसायी संघ काठमाडौंसँग आवद्ध इकाइहरू तथा विश्व साइकल टुर च्याम्पियन नेपालका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी महासंघका महासचिव शंकर भण्डारीले “मठ-मन्दिर र सम्पदालाई सफा राख्दै जीवित राख्न सकियो भने मात्रै पर्यटनको आकर्षण बढाउन सकिन्छ” भन्नुभयो। उहाँले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई पर्यटन विकासको प्रमुख आधारका रूपमा अघि सार्नुपर्नेमा जोड दिनुभयो।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले पर्यटन प्रवर्द्धन सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै अब राज्यले के दिन्छ भनेर बस्ने समय नभएको बताउनुभयो। “प्रत्येकले आ-आफ्नो क्षेत्रबाट सहज वातावरण सिर्जना गर्नुपर्छ, अग्रजहरूले हामीलाई छोेडेर गएको सम्पदा र धार्मिक स्थलको संरक्षण, सरसफाइ र प्रचार–प्रसारमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो।