जेनजी पुस्ताले उठाएका जायज माग सम्बोधन गर्न नेपाल परिवार दलको आग्रह
काठमाडौँ,१० असोज/ नेपाल परिवार दलले हालै भदौ २३ र २४ गते भएका जेनजी पुस्ताको प्रदर्शन तथा त्यसपछि उत्पन्न राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै जायज मागहरू सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।
शुक्रबार काठमाडौंमा अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समिति (उपलब्ध केन्द्रीय सदस्य तथा सल्लाहकारसहित) को बैठकले भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई न्यायोचित ठहर गर्दै सरकारलाई सम्बोधन गर्न अपिल गरेको हो।
बैठकले छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धतासहित अन्तरिम प्रधानमन्त्री शुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र धाँधलीविहीन निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ।
त्यस्तै, जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरिएको छ। प्रदर्शनसम्बन्धी घटनामा सत्य–तथ्य सार्वजनिक गर्न र दोषीलाई कानूनी कारबाही गर्न सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक छानबिन आयोगलाई बैठकले स्वागत गरेको छ।
बैठकले वर्तमान संविधानको परिधिभित्र संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी लोकतन्त्रलाई थप संस्थागत गर्नुपर्नेमा जोड दिंदै “अग्रपंथी लोकतन्त्र” लाई नेपालको वैचारिक मार्गको रूपमा प्रस्तुत गरेको छ। बैठकले नेपाललाई दीर्घकालीन शान्तिको ग्यारेन्टीका लागि शान्तिक्षेत्र घोषणा गर्न पनि सरकारलाई आग्रह गरेको छ।
नेपाल परिवार दलले जेनजी पुस्ताको भावनालाई सम्मान गर्दै केन्द्रीयदेखि स्थानीय तहसम्मको पार्टी संरचनामा उनीहरूको उल्लेख्य सहभागिता गराउने निर्णय गरेको छ। साथै, दललाई आदिवासी, जनजाति, मधेसी, थारु, खस आर्य, दलित, मुस्लिम, ओबीसी लगायत सम्पूर्ण जाति, धर्म, लिङ्ग, पेशा र उमेर समूहको साझा राजनीतिक शक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
बैठकले संवाद र सहकार्यलाई अघि बढाउँदै जेनजी आन्दोलनकारी तथा अन्य दलहरूसँग छलफल गर्न सहमहामन्त्री एवं संविधानसभा सदस्य मिलन राजबंशीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। साथै, अन्तरिम सरकारलाई सबै सरोकारवालासँग निरन्तर संवाद थाल्न, उद्योगी–व्यवसायी, राष्ट्रसेवक र सुरक्षाकर्मीको मनोबल उच्च राख्न कुनै कमी नराख्न अनुरोध गरिएको छ।
बैठकले राष्ट्रिय एकता बलियो बनाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र तथा निजी क्षेत्रलाई एकताबद्ध भई अन्तरिम सरकारलाई सहयोग गर्न अपिल गरेको छ।
त्यसैगरी, नेपाल परिवार दलले बडा दशैं, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको शुभकामना दिएको छ।