सुनसरी/सुनसरीको बराहक्षेत्र नगरपालिका-५, विशाल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक कार नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बिहीबार राति भारतीय नम्बर प्लेटको कारबाट ठूलो मात्रामा लागूऔषध बरामद गरिएको हो।
प्रहरीले शुक्रबार बिहान १:४० बजे धरानबाट कालाबञ्जार तर्फ आउँदै गरेको नम्बर नखुलेको २२० सिसिको पल्सर मोटरसाइकल र बिआर ११ बिआर ७१०२ नम्बरको कारलाई रोक्न खोज्दा चालक फरार भएका थिए। प्रहरी टोलीले पछ्याउँदै कारलाई नियन्त्रणमा लिँदा कारभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ३४० केजी लागूऔषध गाँजा ११ वटा प्लास्टिकका पोका भेटिएको छ।
प्रहरी निरीक्षक कुँवरले अनुसार लागूऔषधसहितको कार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको छ र थप अनुसन्धान जारी छ। उनले भने, ‘यो घटना सुनसरीमा लागूऔषध नियन्त्रणमा हाम्रो सतर्कता र प्रतिबद्धताको प्रतिफल हो। फरार रहेका मोटरसाइकल र कार चालकको खोजतलास जारी छ।’
सुनसरीमा लागूऔषध नियन्त्रणमा कडा कदम चालिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रहरीले आगामी दिनमा पनि यस्ता अवैध गतिविधि रोकथाम गर्न विशेष निगरानी जारी राखेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए।
अन्नपूर्णपोस्टबाट