२०८२ आश्विन २६ गते, आईतवार ०४:३२

चिरञ्जीवी चटौत ऊर्जा मन्त्रालयका सचिवमा बढुवा

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतलाई सचिवको पदमा बढुवा गरिएको छ। बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवको पदमा नियुक्त गर्ने निर्णय गरेको हो। हालसम्म चटौत मन्त्रालयको विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा थिए।

गत भदौ १४ गते सचिव सुरेश आचार्यको अनिवार्य अवकाशपछि मन्त्रालय सचिवविहीन रहेको थियो। यसै बीचमा चटौतलाई सचिवको जिम्मेवारी दिएर मन्त्रालयले रिक्त पदमा नियुक्ति गरेको जानकारी सार्वजनिक गरिएको छ।

चटौतले विद्युत् विकास विभागको महानिर्देशकको रूपमा २०७९ साल भदौ २१ देखि २०८० साल माघ २३ सम्म कार्य गरेका थिए। २०४१ सालमा कञ्चनपुरको महेन्द्रनगर स्थित बैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका चटौतले २०५२ सालमा इन्जिनियरिङ्ग पेशामा सरकारी सेवामा प्रवेश गरेका थिए। उनले महेन्द्रनगरकै सिद्धनाथ साइन्स क्याम्पसबाट आइएस्सी र भारतको विश्वविद्यालयबाट इलेक्ट्रिक इन्जिनियरिङमा स्नातक, साथै जलस्रोत विकासमा स्नातकोत्तर गरेका छन्।

उनी प्रारम्भिक चरणमा भूमिगत सिँचाइका क्षेत्रमा काम गरेपछि २०६१ सालमा विभागमा प्रवेश गरे र यहाँ उनले विभिन्न पदमा काम गर्दै उपमहानिर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए। यसैबीच, उनले तीन वर्षसम्म पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारी सञ्चालकको जिम्मेवारी पनि सफलतापूर्वक सञ्चालन गरेका थिए।

अब, चटौत सचिवको रूपमा मन्त्रालयको कार्य संचालनमा नेतृत्व दिनेछन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM