२०८२ आश्विन २६ गते, आईतवार ०८:३४

सशस्त्र प्रहरी गुल्ममा अड्डाबाजी र असुलीको साम्राज्य, संगठनको शिष्टाचारमाथि प्रश्न

काठमाडौं/सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा. काभ्रे मातहतको सिन्धुली आश्रित गुल्ममा वर्षौंदेखि अड्डा जमाएर बस्ने, घुमुवागिरीको आडमा असुली गर्ने र उच्च अधिकृतको आडमा अवैध कारोबारमै हात हाल्ने जस्ता क्रियाकलाप खुलेआम चलिरहेको आरोप लागेको छ। प्रहरी संगठन शिष्ट, आचारसंहिता र कानूनी मर्यादामा चल्नुपर्ने भए पनि यस गुल्मभित्र भने संगठनकै धज्जी उडाउने खालका कार्यहरू संस्थागत रूपमा हुँदै आएका छन् भन्ने गुनासो बढ्दो छ।

त्यहाँ कार्यरत कतिपय प्रहरी कर्मचारी पाँचदेखि आठ वर्षसम्म एउटै स्थानमा स्थायी रूपमा अड्डा जमाएर बसेका छन्। हवलदार उमा कार्की, जवान हरि बहादुर थापा, हवलदार सुनिता बस्नेत थापा (दम्पत्ति), सहायक निरीक्षक भरत थापा, हवलदार सोमबहादुर पोखरेल, प्रहरी दम्पत्ति हरी बहादुर थापा–दीपा बस्नेत र दिनेश चौलागाई–उमा कार्कीलगायत वर्षौंदेखि त्यही गुल्ममा बसिरहेको आरोप छ। सरुवा प्रणालीलाई दरकिनार गर्दै लामो समय एउटै ठाउँमा बस्ने प्रवृत्तिले संगठनभित्रै असन्तुलन र विभेद सिर्जना भएको सरोकारवालाको बुझाइ छ।

त्यसैगरी, सशस्त्र प्रहरी नायब निरीक्षक (सई) दाबा दोर्जे लामा तीन वर्षभन्दा बढी समयदेखि गुल्ममै कार्यरत छन्। उनी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कमल गिरीको विश्वासपात्रका रूपमा परिचित छन् र ‘घुमुवा’को जिम्मेवारीमा रहेर पूर्वी नेपालतर्फबाट आउने तस्करीका गाडीहरूसँग सेटिङ मिलाउने तथा असुली गर्ने गरेको स्रोतको दाबी छ। काकडभिट्टामा घुमुवाको रूपमा विवादमा तानिएर रवी लामिछाने गृहमन्त्री भएको बेला दरबन्दी फिर्ता गराइए पनि, सिन्धुलीमा आएपछि फेरि त्यही भूमिकामा सक्रिय रहेको जनाइएको छ। लामाले अमर यादवलाई आफ्नो रनर बनाएका छन्, जसले सई लामा मात्रै नभई डिआइजी गिरी, गणपति र गुलम्पतिको नामसमेतमा असुली गर्ने गरेको गम्भीर आरोप छ।

स्रोतका अनुसार, सई लामाले मरीन डाइभर्सन क्षेत्रमा हुने अवैध गाँजा खेती तथा कारोबारमा समेत सेटिङ गरी असुली गर्ने गरेका छन्।

यसैबीच, गुलम्पति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवर्ण पोखरेलले वरिष्ठ हवलदार गणेश योगीलाई गुल्मकै घुमुवा बनाएका छन् भने परिचर विष्णु श्रेष्ठ पनि तीन वर्षदेखि त्यहीँ अड्डा जमाएर बसेका छन्। प्रशासनमा कार्यरत हवलदार सोमबहादुर पोखरेलले आफ्नी श्रीमती सरस्वती सापकोटालाई ‘ड्यूटी नगरी घरमै बस्ने र तलब खाने’ व्यवस्था मिलाएको गम्भीर आरोप लागेको छ। अनुगमन टोली आउने खबर पाएपछि मात्रै ड्यूटीमा खटाइने तर अन्य समयमा घरमै बसेर तलब खाने प्रथा खुलेआम चलाइँदै आएको बुझिएको छ।

यसबाहेक, एउटै गाडीमा पाँच–पाँच जना ड्राइभर राख्ने र उनीहरूलाई बुलेट मोटरसाइकलमा घुमुवाको रूपमा परिचालन गरी असुली अभियान चलाउने जस्ता अराजक अभ्यासले गुल्मभित्रको शिष्टाचारमाथि गम्भीर प्रश्न खडा गरेको छ।

सशस्त्र प्रहरी बलको नाम संगठनकै शुद्धता, शिष्ट र कानूनी राज्यको संरक्षणसँग जोडिन्छ। तर प्रहरीकै आडमा यस्तो असुली, अड्डाबाजी र अनुशासनहीनता खुलेआम चलिरहनु संगठनकै विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा भएको छ। यस्ता विषयमा प्रहरी महानिरीक्ष राजु अर्याललगायतले तत्काल छानबिन गरी लामो समयदेखि एउटै ठाउँमा बसिरहेका प्रहरीलाई सरुवा गर्ने, घुमुवाको नाममा हुने अवैध धन्दा बन्द गराउने र संगठनभित्र शुद्धिकरणको अभियान तत्काल सुरु नगर्ने हुन् भने शसस्त्र प्रहरी भित्रको यो रोगले खतरनाक रुप लिने छ!

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM