२०८२ आश्विन २६ गते, आईतवार ०१:५१

५१ करोडको अवैध सम्पत्तिसहित निरन्जन अग्रवालमाथि मनी लन्डरिङ मुद्दा दायर, उन्मुक्ति पाउन बिचौलिया परिचालन

वीरगंज, १५ साउन।

झुटा विवरणमार्फत नेपाली नागरिकता लिई करोडौंको सम्पत्ति आर्जन गरेको आरोपमा वीरगंज निवासी निरन्जन अग्रवालविरुद्ध ५१ करोडभन्दा बढीको बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

वीरगंज महानगरपालिका–१०, लाठगल्लीको ठेगाना देखाउँदै नेपाली नागरिकता प्राप्त गरेका अग्रवालले वैवाहिक अंगिकृतमार्फत श्रीमती रितादेवी अग्रवाललाई पनि नागरिकता दिलाएको विभागले जनाएको छ। प्रारम्भिक नागरिकताको प्रक्रिया नै अवैध पाइएपछि उनीहरूको सम्पत्ति आर्जनमाथि विस्तृत अनुसन्धान थालिएको थियो।

विभागका अनुसार अग्रवालले आफ्नै नाम मात्र होइन, श्रीमती र अन्य दुई व्यक्तिहरू—युनेश वली र सविता कुमारीको साझेदारीमा समेत सम्पत्ति आर्जन गरेका छन्। उनका नाममा विभिन्न जिल्लाहरूमा बहुमूल्य जग्गा, बैंक खाताहरू, शेयर र अन्य लगानीहरू दर्ता गरिएका छन्, जुन सम्पूर्ण सम्पत्ति अवैध स्रोतबाट आर्जन गरिएको ठहर विभागले गरेको छ।

सरकारी वकिल कार्यालयमार्फत दायर अभियोगपत्रमा अग्रवालसहित चार जनालाई प्रतिवादी बनाई मनी लन्डरिङ निवारण ऐन, २०६४ अनुसार कारबाहीको माग गरिएको छ। विभागले सम्पूर्ण अवैध सम्पत्ति जफत गरी राज्यको हकमा ल्याउन तथा अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति स्वरूप राहत कोषमा रकम दाखिला गर्न माग गरेको छ।

दायर गरिएको मुद्दामा विभागले बिगो ५१ करोड ११ लाख ९५ हजार ७० रुपैयाँ ८ पैसा बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरिएको निष्कर्षसहित प्रमाण पेस गरेको छ।

यो मुद्दा पछिल्लो समय विदेशी पृष्ठभूमिका व्यक्ति तथा समूहले नेपालको कानुनी कमजोरीको दुरुपयोग गर्दै अवैध सम्पत्ति आर्जन गर्ने प्रवृत्तिप्रति राज्यको ध्यान खिचाउने गम्भीर घटना मानिएको छ।

यसैबीच आरोपित अग्रवालले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको कारवाहीबाट जोगिन बिचौलिया परिचालन गरेको बुझिन आएको छ। बिचौलियाले आफ्नो प्रभाव अदालत देखि विभिन्न निकायमा रहेको भन्दै मोटो रकमको डिल गरेको चर्चा चुलिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM