२०८२ आश्विन २६ गते, आईतवार ०१:५१

करेन्ट लागेर रौतहटमा २७ जनाको ज्यान गयो, सतर्कता अपनाउन प्रहरीको आग्रह

रौतहट / जिल्लामा करेन्ट लागेर मृत्यु हुने घटनामा चिन्ताजनक वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक वर्षको अवधिमा करेन्ट लागेर २७ जनाको ज्यान गएको जानकारी दिँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरी कार्यालयका अनुसार गत साउनदेखि हालसम्म मात्रै २७ जनाको मृत्यु विद्युत करेन्ट लागेर भएको छ। अघिल्लो आर्थिक वर्षमा सो संख्या २३ रहेको थियो भने चालु आर्थिक वर्षको प्रारम्भसँगै हालसम्म चार जनाले ज्यान गुमाइसकेको जनाइएको छ।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न सावधानी अपनाउन नागरिकलाई अनुरोध गरेको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, पानी जमेको स्थानमा खाली खुट्टा हिँड्दा वा बिजुलीका काम गर्दा अत्यन्त सावधानी अपनाउन, मर्मत कार्यका लागि मात्र प्रमाणित प्राविधिकको सहयोग लिन, असुरक्षित वा झुण्डिएको तारको प्रयोग नगर्न आग्रह गरिएको छ।

विद्युतीय उपकरणहरूको प्रयोगमा विशेषगरी बालबालिकाप्रति ध्यान दिनुपर्ने सुझाव दिइएको छ। साना बालबालिकाले सजिलै छोइहाल्न सक्ने स्थानमा विद्युतीय सामग्री नराख्न र घरभित्र तार झुण्ड्याउने चलन हटाउन अपिल गरिएको छ।

खेतबारीमा सिँचाइ गर्न सिँचाइ मिटरको प्रयोग गर्न, रातको समयमा विद्युतसम्बन्धी काम नगर्न र पोलबाट हुकिङ प्रणालीमार्फत विद्युत चोरी नगर्न पनि चेतावनी दिइएको छ।

प्रहरीले सामान्य दैनिक क्रियाकलाप गर्दा पनि खुला स्थानमा तार, स्विच वा प्लग नराख्न सल्लाह दिएको छ। नागरिकको सुरक्षाका लागि व्यापक जनचेतना आवश्यक भएको उल्लेख गर्दै कुनै जानकारी वा आपत्कालीन अवस्थामा प्रहरी कन्ट्रोल नम्बर १०० वा ९८५५०४०९९९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM