२०८२ आश्विन २५ गते, शनिबार १९:१८

तीन महिनाको विपदः ९३ जनाको मृत्यु, २२ बेपत्ता

काठमाडौं, ०१ साउन/ चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकभर विपद् सम्बन्धी २,०६५ घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार वैशाखदेखि असारसम्मको अवधिमा ती घटनाबाट ९३ जनाको ज्यान गएको छ भने २२ जना अझै बेपत्ता छन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनाबाट ४४५ जना घाइते भएका छन् र ४,१३६ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

सबैभन्दा बढी क्षति बाढीबाट

बाढीका १३७ घटनामध्ये १३ जनाको मृत्यु भएको र २२ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ। केही दिनअघि रसुवाको भोटेकोशी क्षेत्रमा भएको हिमताल विष्फोटपछि आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति पुर्‍याएको हो।

पहिरो, चट्याङ्, आगलागी र अन्य घटनाबाट पनि जनधनको क्षति

प्राधिकरणका अनुसार पहिरोका १७५ घटनामा ६ जनाको मृत्यु भएको छ। त्यस्तै, चट्याङबाट २६, आगलागीबाट १४, जंगली जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाले ज्यान गुमाएका छन्। हावाहुरी, सर्पदंश, भारी वर्षा लगायतका कारणले पनि मानवीय क्षति भएको छ।

बाढी र आगलागीले हजारौं परिवार प्रभावित

बाढीबाट १,२४६ र आगलागीबाट १,०४८ परिवार प्रभावित भएका छन्। पहिरो, चट्याङ्, वन डढेलो, सर्पदंशजस्ता घटनाहरूले सयौँ परिवार विस्थापित भएका छन्।

प्राधिकरणले विपद् न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि स्थानीय तहसँग सहकार्य गरी पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM