काठमाडौं, २७ असार/ नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्व पौडेलले अर्थतन्त्रको वर्तमान अवस्था, मौद्रिक स्थायित्व र वित्तीय क्षेत्रको सुदृढतालाई ध्यानमा राखी यस्तो प्रक्षेपण गरिएको जानकारी दिए।
“आगामी वर्षको मौद्रिक नीतिमा विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने अनुमान गरिएको छ,” गभर्नर पौडेलले भने, “नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको एक अन्तरिम लक्ष्यको रूपमा यथावत राखिएको छ।”
उनका अनुसार मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रूपमा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तर बैंक दरलाई कायम राखिनेछ। साथै, स्वचालित र नियममा आधारित खुला बजार कारोबारलाई निरन्तरता दिइनेछ।
गभर्नर पौडेलले देशको समष्टिगत आर्थिक स्थायित्व र वित्तीय प्रणालीको दीगो विकासका लागि मौद्रिक नीति प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। मौद्रिक नीतिमा प्राथमिकता प्राप्त क्षेत्रहरूलाई लक्षित कर्जामा सहजता ल्याउने, वित्तीय पहुँच विस्तार गर्ने, र समग्र लगानीमैत्री वातावरण निर्माण गर्ने उपायहरू पनि समेटिएको उल्लेख गरिएको छ।