२०८३ बैशाख १९ गते, शनिबार ०४:२३

नेपाल–गौतम सहमति: एकीकृत समाजवादी र अभियान एकै पार्टीमा

काठमाडौं — नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ मोड आउन लागेको छ। नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ। शुक्रबार बिहान दुबै पक्षका शीर्ष नेताबीच लिखित सहमति भएको हो।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको उपस्थितिमा भएको छलफलपछि पार्टी एकता प्रक्रिया औपचारिक रूपमा अघि बढाउने सहमति जुटाइएको हो। सहमति अनुसार, आगामी साउन २ गते राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरी पार्टी एकताको औपचारिक घोषणा गरिनेछ।

दुबै पक्षबीच हस्ताक्षरित सहमतिपत्रमा भनिएको छ, नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता भएको निष्कर्षसहित, राजनीतिक विचार, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा समानता रहेकाले एकता गर्ने निर्णयमा पुगेको उल्लेख छ।

सहमति अनुसार, नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी)मा समाहित हुनेछ। पार्टी एकतासँगै संगठनात्मक संरचना, कार्यविभाजन र संयुक्त राजनीतिक कार्यक्रमबारे थप छलफल गरी टुंगो लगाइने बताइएको छ।

यो सहमतिले लामो समयदेखि टुटफुटमा रहेका वामपन्थी शक्तिहरूलाई पुनः एकजुट गर्ने प्रयासका रूपमा हेरिएको छ। पार्टी एकता पश्चात् साझा एजेन्डा र रणनीतिबारे विस्तृत योजना ल्याउने तयारी समेत गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM