रौतहट, २६ असार/
रौतहटको गौर नगरपालिका–४ गुप्ता पेट्रोल पम्पदेखि टिकुलिया जोड्ने करिब दुई किलोमिटर सडकमा भइरहेको कालोपत्रको काम अत्यन्तै कमजोर र लापरबाहीपूर्ण देखिएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्। ठेकेदार कम्पनीले मापदण्ड विपरीत गुणस्तरहीन सामग्री प्रयोग गरेर हतार–हतार कालोपत्र गरेको आरोप स्थानीयहरूले लगाएका छन्।
स्थानीयका अनुसार सडक कालोपत्र सुरु गर्नुअघि नै बिछ्याउनुपर्ने सबबेस पर्याप्त संकुचित मात्रामा राखिएको छ, जसलाई सामान्य हातले खोतर्दा नै भत्किने अवस्था देखिएको छ। सडकको दायाँ–बायाँ रहेका नाली, पर्खाल र कल्भर्टसमेत मर्मत नगरीकनै कालोपत्र सुरु गरिएको छ। यस्तो कार्यले राज्यको ठुलो बजेटको दुरुपयोग मात्र नभई नागरिकको सुरक्षामा समेत गम्भीर प्रश्न उठाएको स्थानीयले बताएका छन्।
“निर्माण कम्पनीले पटक–पटक सचेत गराउँदा पनि हाम्रो आवाज बेवास्ता गर्यो,” एक स्थानीयले भने, “सबबेस राम्रोसँग नबिछ्याई, गुणस्तरहीन अलकत्रा हालेर पैसा मात्रै असुल्न खोजिएको छ।”
स्थानीय नेताहरूले समेत सडक निर्माणको गुणस्तरप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। “जनताको करबाट उठेको रकम यसरी लापरबाहीका साथ खर्च गर्नु दण्डनीय अपराध हो,” एक स्थानीय नेताले भने, “हामी सम्बन्धित निकायसँग छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्छौं।”
पूर्वाधार विकास कार्यालय, गौरका प्रमुख दीपक कुमारले भने यस सडक आयोजनाको काम नयाँ नभई मर्मत–सम्भार मात्र भएको दाबी गरेका छन्। तर स्थानीयको प्रतिवाद छ—मर्मत होस् वा नयाँ निर्माण, कामको गुणस्तर मापदण्डअनुसार हुनुपर्छ, त्यो नहुँदा दीर्घकालीन फाइदा होइन, सस्तो लोकप्रियता र बजेटको दुरुपयोग मात्र हुन्छ।
स्थानीय नागरिकहरू र सरोकारवालाहरूले सडक निर्माणको अवस्था तत्काल प्राविधिक परीक्षण गर्न, गुणस्तरीय निर्माण सुनिश्चित गर्न र दोषी ठेकेदार कम्पनीमाथि कानुनी कारबाही गर्न नगरपालिका, पूर्वाधार विकास कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कडा माग गरेका छन्।
“हामी यो लापरबाही सहन तयार छैनौं,” एक आक्रोशित स्थानीयले चेतावनी दिए, “यदि तत्काल सुधार गरिएन भने हामी निर्माण कार्य अवरुद्ध गर्न बाध्य हुनेछौं।”
स्थानीय स्तरमै यस्तो नागरिक सजगता र प्रश्न सोध्ने परम्परा मजबुत हुँदै जाँदा मात्र राज्यका विकास आयोजनाहरू दीगो, पारदर्शी र जनहितमा रहने नागरिकहरूको विश्वास छ।