२०८२ आश्विन २६ गते, आईतवार ०१:४६

टेक अर पे व्यवस्था लागु हुन्छः ऊर्जामन्त्री खड्का

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ‘टेक एन्ड पे’ विद्युत् खरिद मोडालिटीमा संशोधनको तयारी भइरहेको जानकारी दिएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले साना जलविद्युत् तथा निर्यात सुनिश्चित आयोजना ‘टेक अर पे’ अवधारणाअन्तर्गत राख्न उपयुक्त हुने धारणा ऊर्जा मन्त्रालयको रहेको बताए।

उनका अनुसार मन्त्रालयले जेठ २७ गते नै अर्थ मन्त्रालयमा संशोधन प्रस्ताव पठाइसकेको छ। “१० मेगावाटसम्मका साना जलविद्युत् र विद्युत् खपत तथा निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजना ‘टेक अर पे’ प्रणालीमा ल्याउनु उपयुक्त देखिएको छ,” मन्त्री खड्काले भने, “नेपाल विद्युत् प्राधिकरणको सुझावका आधारमा संशोधनको तयारी गरिएको हो। अर्थमन्त्रीसँग छलफल भइसकेको छ र चाँडै संशोधन हुने अपेक्षा राखेको छु।”

मन्त्री खड्काले उद्योगी–व्यवसायीहरूसँगको विद्युत् महसुल बक्यौता कानुनी प्रक्रिया अनुसारै संकलन गरिने स्पष्ट पारे। “बक्यौता संकलन प्रक्रियागत ढंगबाट हुनेछ। यसमा कुनै अन्यथा व्याख्या गर्ने ठाउँ छैन,” उनले प्रष्ट पारे।

बैठकमा भारतसँगको विद्युत् कारोबारबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले दुवै देशबीचको आपसी सहयोगले लोडसेडिङ अन्त्य सम्भव भएको उल्लेख गरे। “बर्खायाममा हामी भारतलाई विद्युत् निर्यात गर्छौं भने हिउँदमा आयात गर्छौं,” मन्त्री खड्काले भने, “आवश्यकता अनुसारको आपसी आदान–प्रदानकै कारण लोडसेडिङ अन्त्य सम्भव भएको हो। यो कुनै एक व्यक्तिको प्रयास मात्र होइन।”

उनका अनुसार नेपाल हाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको छ र सरकार यसलाई थप विस्तार गर्ने रणनीतिमा छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM