सर्लाही/सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा शनिबार बिहान बाटो विस्तारका क्रममा उत्पन्न विवादले झडपको रुप लिँदा प्रहरी निरीक्षकसहित तीन जना घाइते भएका छन्।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायरसमेत गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेश घाइते भएका छन्। उनी झडप रोक्ने प्रयासमा घाइते भएको प्रहरीले जनाएको छ भने अन्य दुई जना सर्वसाधारण आपसी झडपमा परी घाइते भएका हुन्।
प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ। घटनापछि तनावको अवस्था रहेकाले बरहथवा इलाका प्रहरी कार्यालयका डिएसपीको नेतृत्वमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। सशस्त्र प्रहरीसमेत घटनास्थलमा खटाइएको छ।
सुरक्षा निकायले झडपलाई थप उग्र हुन नदिन स्थिति नियन्त्रणमा राख्न आवश्यक सतर्कता अपनाइरहेको जनाएको छ।