२०८३ बैशाख १९ गते, शनिबार १२:२७

तीनकुने घटना: दुर्गा प्रसाईँसहित ३९ जनाको बयान सकिएपछि थुनछेक बहस सुरू

काठमाडौं, २२ जेठ/ तीनकुनेमा राजावादी समूहद्वारा आयोजना गरिएको हिंसात्मक प्रदर्शनसम्बन्धी प्रकरणमा संलग्न ठहरिएका दुर्गा प्रसाईँसहित ३९ जना प्रतिवादीको बयान प्रक्रिया सम्पन्न भएको छ। जिल्ला अदालत काठमाडौंमा आजदेखि थुनछेक बहस औपचारिक रूपमा सुरू हुँदैछ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार प्रतिवादीहरूको बयान सकिएसँगै न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा आजबाट थुनछेक बहस सुरू भएको हो। बहस पश्चात अदालतले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने सम्बन्धमा आदेश जारी गर्नेछ।

प्रकरणमा कूल ५० जना विरुद्ध मुद्दा दायर गरिएको छ। तीमध्ये ३९ जना हाल प्रहरी हिरासतमा रहेका छन् भने ११ जना धरौटीमा छुटिसकेका छन्। प्रतिवादीहरूविरुद्ध मुलुकी अपराध संहिता अन्तर्गत राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधजस्ता गम्भीर अभियोगहरूमा मुद्दा दायर गरिएको हो।

तीनकुनेमा गत चैत १५ गते भएको आन्दोलनका क्रममा व्यापक तोडफोड, आगजनी, ढुंगामुढा तथा लुटपाटका घटना भएका थिए। प्रदर्शनका क्रममा एक जना पत्रकारसहित दुई जनाको ज्यान गएको थियो।

प्रहरीको अनुसन्धान प्रतिवेदन जेठ ९ गते जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले सोही दिन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

प्रदर्शनका मुख्य आयोजकका रूपमा चिनिएका दुर्गा प्रसाईँ घटनापछि केही समय फरार रहेका थिए। प्रहरीको विशेष टोलीले उनलाई अंगरक्षक दीपक खड्कासहित झापाको भद्रपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

प्रसाईँमाथि प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गरिरहेको गाडीलाई लक्षित गरी आफ्नै सवारी साधन कुदाएको, साथै उनका समर्थकहरूद्वारा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याइएको आरोप लगाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM