गोदावरी, ललितपुर — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बागमती प्रदेशस्तरीय वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र र राजावादी प्रवृत्तिमाथि तीव्र आलोचना गरेका छन्।
गोदावरीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पूर्व माओवादी नेताहरू र राजसंस्थाका पक्षपातीहरूलाई लक्षित गर्दै ती तत्वहरूले मुलुकको समृद्धि, स्थायित्व र स्वाधीनतामाथि प्रहार गरिरहेको आरोप लगाए।
“माओवादीहरूले अरुको होइन, केवल एमालेको विरोध गर्छन्,” उनले भने, “वाम एकता भन्नेसँगै एमालेविरोधी मानसिकता बोकेकाहरूको नाटक अब जनताले चिनेका छन्।”
ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यक्तिगत आक्षेप समेत लगाए। “कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुन्,” ओलीले भने, “त्यही हल्लाको पछि लाग्नेहरू हुन् माधव नेपाल र झलनाथ खनाल।”
पूर्व माओवादी नेतृत्वमाथि कटाक्ष गर्दै उनले थपे, “२०६४ सालको जस्तो चुनावी परिणाम ल्याउने माओवादीको सपना अब दिवास्वप्न मात्रै हो। त्यो समय गयो, अब देश विकास र सुशासनको बाटोमा जान्छ, एमालेको नेतृत्वमा।”
राजावादीलाई ‘खाओवादी’ को संज्ञा
ओलीले राजसंस्थाको पुनःस्थापनाको माग गर्दै आन्दोलनरत पक्षहरूलाई ‘राजावादी साजावादी होइन, खाओवादी’ भन्दै व्यंग्य गरे।
“हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ भन्नेहरू नारायणहिटी दरबारमा वीरेन्द्र हत्या हुँदा किन मरेनन्?” भन्दै ओलीले प्रश्न गरे, “प्राणभन्दा प्यारो भनेपछि त्यो क्षण उनीहरू कहाँ थिए?”
राजतन्त्र फर्कन कुनै आधार नरहेको भन्दै उनले प्रतिगामी सोच बोकेका समूहहरूले जनताको भावनामा खेल्ने प्रयास गरिरहेको बताए। “सरकार र जनता अलिकति मौन बसेकै कारण यिनीहरूले अनावश्यक फुर्तो देखाएका हुन्,” उनले भने, “तर एमाले सडकमा उत्रिएपछि ती फुर्तो एकछिनमै हराउँछ।”
१५ जेठको तयारी र निर्देशन
कार्यक्रममा ओलीले जेठ १५ गते राजधानी काठमाडौंमा हुने प्रदर्शनका लागि तयारी गर्न निर्देशन दिए। “जेठ १५ गते बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ,” उनले स्पष्ट पारे, “कुन संस्था अगाडि, कुन पछि भन्ने छैन, सबै एकै हो। आन्दोलनमा प्रोटोकल हुँदैन।”
वडाध्यक्षहरूलाई आफ्नो भूमिकामा गम्भीर हुन आग्रह गर्दै उनले भने, “निर्वाचन जितेपछि पार्टीसँगको सम्बन्ध चङ्गाको धागो काटिए जस्तो टुट्न हुँदैन। जनतासँगको सम्पर्क र पार्टी नीति अनुसार सेवा पुर्याउनु पर्छ।”
पार्टी एकता र मिशन २०८४
ओलीले आगामी २०८४ को निर्वाचनलाई लक्षित गर्दै पार्टी एकता र संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गर्न आह्वान गरे। “हामीसँग देशलाई विकास र सुशासन दिन सक्ने क्षमता छ,” उनले भने, “अब द्वन्द्व र खिचातानी होइन, स्पष्ट बहुमत ल्याउनेतर्फ अघि बढ्नुपर्छ।”
अन्त्यमा, ओलीले भ्रान्तिपूर्ण प्रचार र प्रतिगामी शक्तिहरूको गतिविधिबाट सतर्क रहन आग्रह गर्दै जनप्रतिनिधिहरूलाई पार्टी र जनताको विश्वासका साथ अघि बढ्न निर्देशन दिए।
















