— रिदेन महर्जन |
काठमाडौं — अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्लुज कलाकार अशेष डंगोलको प्रस्तुतिले राजधानीको ‘महोत्सव रेस्टुरेन्ट एण्ड बार’, लालदरबारलाई शनिबार साँझ संगीतको सुरले झंकृत बनायो। ‘द हिमालयन हेन्ड्रिक्स’को नामले विश्वभर चिनिएका डंगोल आफ्नै ब्यान्डसहित स्टेजमा उत्रिँदा दर्शकहरू उनीसँगै गीत र तालमा रमाइरहेका थिए।
डंगोलको साथमा वेश गिटारमा विकास श्रेष्ठ, ड्रम्समा सागर श्रेष्ठ तथा परम्परागत धिमे बाजामा प्रतिक महर्जनले साथ दिएका थिए। यिनै संयोजनमा जिमी हेन्ड्रिक्सका कालजयी रचना — Fire, Voodoo Child, Purple Haze, मदि वाटर्सको Hoochie Coochie Man र अल्बर्ट किङको Born Under a Bad Sign जस्ता गीतहरू प्रस्तुत हुँदा उपस्थित दर्शक ब्लुजको लहरमा बगिरहेका थिए।

साथै, उनले आफ्नै सिर्जनामा आधारित नेपाली गीतहरू सुन्नुश न सुनाउनुश न, टिपु टिपु लाग्छ, इन सर्च टुवार्ड्स फ्रीडम, जात्रा भाइब, काठमाडौं भाइब लगायत एल्बमका अन्य गीतहरू पनि प्रस्तुत गरे। विशेषगरी, काठमाडौं उपत्यकाको परम्परागत ज्यापू समुदायद्वारा प्रयोग हुने धिमे बाजाको धुनमा आधारित जात्रा भाइब र काठमाडौं भाइब ले कार्यक्रममा विशेष सांस्कृतिक आत्मा भरेको महसुस गरायो।
पश्चिमी र नेपाली संगीतको फ्युजन, ब्लुजको गहिरो भाव र धिमेको परम्परागत तालबीचको मेलले साँझलाई अझ जीवन्त बनाएको थियो। कार्यक्रममा उपस्थित दर्शकहरू अशेष डंगोल र उनको ब्यान्डको प्रस्तुति सँगसँगै नाचिरहेका थिए — संगीतको त्यो लय, जुन भुल्नै नसकिने अनुभव बन्यो।
हेर्नुहोस्ः भिडियोः















