२०८३ जेष्ठ ६ गते, बुधबार ०९:११

वीरगञ्जको ऐतिहासिक घण्टाघर मर्मतमा ढिलाइ : स्थानीयको चासो र आलोचना

वीरगञ्ज, ३१ बैशाख / 
पर्सा जिल्लाको वीरगञ्जमा अवस्थित ऐतिहासिक घण्टाघरको मर्मतकार्यमा ढिलाइ भएपछि स्थानीयवासी तथा पर्यटकले असन्तोष व्यक्त गरेका छन्। तीन महिनाअघि क्षतिग्रस्त भएको यो संरचना अझै मर्मतको क्रममा छ, तर काम सुस्त गतिमा अघि बढिरहेको स्थानीयको भनाइ छ।

गत फागुन ७ गते घण्टाघरको बाल्कोनी भाग भत्किएपछि त्यसलाई प्लास्टिकको घुम्टोले छोपिएको छ। पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र रहँदै आएको घण्टाघर यसरी बेरिएको देख्दा आगन्तुक निराश भएको स्थानीय व्यवसायीहरू बताउँछन्।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले घण्टाघरको संरचना जीर्ण भएकाले मर्मतमा अपेक्षाकृत समय लागेको स्वीकार गरे। “पुरानो संरचना भएकाले काम सजिलो छैन,” कर्णले भने, “तर हामी निर्माण कम्पनीलाई काम छिटो सक्न ताकेता गरिरहेका छौँ।”

महानगरको पूर्वाधार महाशाखाका इञ्जिनियर गौरव झाले बाल्कोनीमा भएको क्षतिको कारण आकाशे पानीको निकास अवरुद्ध हुनु रहेको बताए। उनका अनुसार प्राविधिक परीक्षण र लागत अनुमान तयार पार्नमा समेत समय लागेको हो। “हाल मर्मतको काम अघि बढिरहेको छ र झण्डै डेढ महिनाभन्दा बढी लाग्न सक्छ,” उनले बताए।

महानगरले स्काफोल्डिङ जडानसहितको प्रारम्भिक काम सम्पन्न गरिसकेको जनाएको छ। अत्यधिक सवारी चाप रहने क्षेत्र भएकाले घण्टाघरलाई चारैतर्फबाट घेराबन्दी गरेर मर्मत कार्य अघि बढाइएको छ। इञ्जिनियर झाका अनुसार काम प्राविधिक हिसाबले जटिल भएकाले थप समय लाग्ने सम्भावना छ।

मर्मतको लागि अनुमानित लागत २० लाख रुपैयाँ तोकिएको छ भने काम आगामी असार १० गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ।

सन् १९७९ फेब्रुअरी ८ मा निर्माण सम्पन्न भएको वीरगञ्जको घण्टाघर जापानको योनागो शहरका विद्यालय विद्यार्थीहरूले एकदिनको खाजाको पैसा बचत गरी सहयोग संकलन गरेर निर्माण गरिएको जनविश्वास छ। यो ऐतिहासिक स्मारकको मर्मत छिटो सम्पन्न गर्न स्थानीयबासीले महानगरसँग जोडदार माग गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM