राकेश गुप्ता/
सर्लाही, ४ वैशाख।
महाभारतकालीन ऐतिहासिक महत्व बोकेको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल (यक्ष दह) को संरक्षण तथा विकासका लागि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमार्फत अध्यक्ष महतोले नाढीमन ताललाई हस्तिनापुर, कुरुक्षेत्र र विराटनगर जस्ता प्राचीन ऐतिहासिक स्थलहरूसँग जोडिएको यक्ष दहको रुपमा संरक्षण गर्नु जरुरी रहेको बताएका छन्। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण मानिने यो स्थललाई नेपाल सरकारले देशका १०० प्रमुख पर्यटकीय गन्तव्यमा सूचीकृत गरिसकेको र मधेश प्रदेश सरकारले समेत आ.व. २०८०/८१ को नीति तथा कार्यक्रममा “प्रदेश गौरवको योजना” अन्तर्गत समेटिसकेको स्मरण गराउँदै उनले विकास कार्यमा भने अझै ठोस पहल नदेखिएको भन्दै चिन्ता व्यक्त गरे।
अध्यक्ष महतोले, “स्थानीय तहको सीमित स्रोतले मात्र नाढीमन तालको समुचित विकास सम्भव छैन। यसको संरक्षण, मौलिक पुनर्निर्माण तथा भौतिक विस्तारका लागि अरबौँ रुपैयाँ बराबरको लगानी आवश्यक छ,” भन्दै प्रदेश सरकारको सक्रियता आवश्यक रहेको उल्लेख गरे।
ज्ञापनपत्रमा तालसँग जोडिएका अन्य तालतलैया, धार्मिक सम्पदा, नदी–खोला तथा भूमिहीन दलित समुदायको व्यवस्थापन गर्दै समग्र क्षेत्रको समुचित विकास गर्नुपर्ने माग गरिएको छ। साथै, नाढीमन ताललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले अग्रसर भूमिका खेल्नुपर्ने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतलगायत विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।