वीरगंज, २६ चैत/सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत पर्सामा खटिएको टोलीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउन लागिएको आठ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा दाखिला गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेंन्द्र सिंहले दिनु भएको जानकारी अनुसार बीरगञ्ज-१६ स्थित विभिन्न सीमा नाकाबाट खटिएको प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जको टोलीले भारततर्फबाट अवैध रूपमा ल्याइएका किराना, कपडा, फुटबल जुत्ता लगायतका सामानहरू लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। उक्त सामानको मूल्य रु. छ लाख ६४ हजार तीन सय ४५ रहेको छ।
साथै ना.३७ प. ६३७० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
त्यस्तै अमरपट्टी, सिर्सिया र ड्राइपोर्ट नाकाबाट समेत रु. एक लाख ४३ हजार चार सय २० रुपैयाँ बराबरको अन्य सामानहरू बरामद गरी भन्सार दाखिला गरिएको छ। यसरी जम्मा रु. आठ लाख सात हजार सात सय पैँसठी बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सिंहका अनुसार, सीमावर्ती क्षेत्रमा सुरक्षालाई सुदृढ बनाउँदै अवैध क्रियाकलाप रोक्न नियमित रुपमा निगरानी र गस्ती बढाइएको छ।

















