– धिरेन्द्र तिवारी
काठमाडौं/ माओवादीको ‘कुलमान पुनः नियुक्ति’ माग्ने आन्दोलनमा राप्रपाका कार्यकर्ताहरूले समेत सहभागिता जनाएको दृश्यले आज देशको राजनीति झन् अन्योलतर्फ उन्मुख भएको देखिएको छ। माओवादी कार्यकर्ता सँगै माईतीघरमा प्लेकार्ड बोकेर उभिएका राप्रपाका कार्यकर्ताहरूले ‘राजावादी’ नामको आन्दोलन कुन दिशामा जाँदैछ भन्ने गम्भीर प्रश्न उठाएका छन्।
१७ हजार नेपाली जनताको हत्या गर्ने पार्टीका एजेण्डालाई समर्थन जनाउँदै, राष्ट्रघात र हिंसाको इतिहास बोकेको शक्तिलाई बल पुर्याउने काम आज राप्रपा कार्यकर्ताबाट भइरहेको छ। जनताले लामो समयदेखि राष्ट्र, धर्म, संस्कृति र पहिचानको रक्षाका लागि आशा राखेको शक्ति आज आफ्नै अस्तित्व भुलेर ‘राजसंस्थाको विरोधी’ शक्ति सँगै उभिनु कत्तिको उचित हो?
राजसंस्था विस्थापित गर्नेहरूकै कार्यक्रमलाई समर्थन गर्दै सडकमा उत्रने राप्रपाका कार्यकर्ताहरूको यो चरित्रले पार्टी नेतृत्वको दिशाहीनता झल्काएको छ। के राप्रपासँग आफ्नै कुनै स्पष्ट एजेण्डा छैन? के उनीहरूलाई आफ्नो संगठन र विचारप्रति विश्वास छैन? यदि कुलमान घिसिङकै समर्थन गर्नु थियो भने त्यो समर्थन ‘राष्ट्रवादी ध्वजा’ बोकेर होइन, प्रष्ट विचारसहित हुनुपर्थ्यो।
पछिल्लो समय देखिएको राप्रपाको यो ढुलमुले नीति, दोहोरो चरित्र र दिशाहीन उन्मुखताले राजसंस्थाको पक्षमा रहेको आम जनताको भावनामा चोट पुगेको छ। जसले गणतन्त्र ल्यायो, आज उसैको रणनीतिमा नाच्नु भनेको राजसंस्थालाई पुनःस्थापित गर्नु होइन, बरु त्यो आन्दोलनलाई भङ्ग पार्ने कार्य हो।
यदि साँच्चै राजसंस्थाको पुनःस्थापना चाहिएको हो भने, राप्रपाले अरूको एजेंडा बोक्ने होइन, आफ्नै नीति, दर्शन र योजनासहित संघर्षको बाटो समात्नुपर्छ। आजको दिशाहीन र विभाजित अवस्थाबाट पार्टी बाहिर निस्कन नसक्ने हो भने, राजसंस्थाको सपना केवल एक दिवास्वप्न बन्न पुग्नेछ।
राजसंस्था फर्काउने नाममा राष्ट्रघातका शक्तिसँगको सहकार्यले राप्रपालाई फाइदा होइन, गम्भीर राजनीतिक घाटा निम्त्याउने छ — जसको जिम्मेवारी नेतृत्वले आजै आत्मसमीक्षा गरेर बुझ्न आवश्यक छ।

















