१० चैत, काठमाडौं । आइतबार सेयर बजारले केही फरक र डरलाग्दो संकेत देखायो । कारोबार खुलेदेखि बजार एकोहोरो घटिरह्यो । पहिले पहिले बजार अन्तिम केही मिनेटमा उचालिने गर्दथ्यो, आइतबार त्यो पनि देखिएन ।
खरिदकर्ताले चाहेकै मूल्यमा बिक्रेताले सेयर बेच्दै गए, जसले गर्दा कारोबार रकम अघिल्लो दिनभन्दा बढ्यो । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोड पुग्यो ।
घट्दो बजारमा कारोबार रकम बढ्नुले दुई वटा संकेत गर्छ । एउटा हो : ठूलो परिमाणमा बेच्न चाहनेले खरिदकर्ताकै आदेश मूल्यमा दिँदै गइरहेका छन् । यसले बजारमा ठूलो मात्रामा सेयर बिक्री भएको संकेत गर्छ ।
त्यस्तै अर्को संकेत हो : बजार लगातार घटेर न्यूनतम विन्दुमा आएपछि खरिदकर्ताको सक्रियता बढ्नु । दोस्रो संकेतले बजारको प्रवृत्ति जुनसुकै बेला उल्टिन सक्ने संकेत दिन्छ । यतिबेला भने दुवै संकेतको मिश्रित प्रतिक्रिया रहेको ब्रोकर सञ्चालकहरू बताउँछन् ।
पछिल्लो समय बजार लगातार घट्नुमा चैत १५ गते हुने राजतन्त्रको पक्ष, विपक्षमा हुन गइरहेको आन्दोलन रहेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले बताए ।
‘भोलिका दिनमा हुने आन्दोलन स्वरुपले बेग्लै रुप लिन सक्छ भन्ने आँकलनले कतिपय सेयर बेच्न हतारिए, अर्कोतर्फ किन्न चाहनेले पनि घटिरहेको बजार र आगामी आन्दोलनका कारण पर्खिरहे’ उनले भने ‘यहीं कारण आइतबार बिक्री गर्ने अलि बढी सक्रिय देखिए ।’
तर बजार जसरी घट्यो, बढ्दा पनि त्यस्तै प्रवृत्ति देखाउन सक्ने भएकाले आइतबारदेखि केही मात्रामा खरिद हुन थालेको जानकार बताउँछन् ।
चैत १५ गते राजावादी निकटका समूहले राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्दैछन् । त्यसविरुद्ध सोही दिन प्रचण्ड नेतृत्वको माओवादी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपासहितको समाजवादी मोर्चाले पनि संयूक्त प्रदर्शन गर्दैछ । प्रदर्शनले मुठभेडको संकेत लिन सक्ने डर लगानीकर्तामा पनि छ ।
त्यस्तै आइतबारदेखि बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य लागू भएको रानाभाटले बताए । बिहीबारदेखि लागू हुने भनिए पनि आइतबारबाट मात्रै यो व्यवस्था लागू भएको छ । यसले गर्दा अन्तिम समयमा लोक्याप कम्पनी बढाउने चलखेल हटेको छ ।
‘लोक्याप कम्पनीको मूल्य अन्तिममा बढ्दा त्यसले समग्र बजारलाई अन्तिम समयमा केही न केही ‘बाउन्स’ दिएकै थियो, तर त्यो क्रम पनि सकिएपछि ठूला खेलाडी आइतबार लोक्याप कम्पनी उचाल्नतिर लागेनन्’ उनले भने ‘जसले गर्दा अन्तिममा बजार केही मात्रामा उचालिने क्रम पनि रोकियो ।’
भारित औसत मूल्यको प्रभाव कम्पनीका सेयर मूल्यमा झनै बढी देखिएको छ । धेरै मूल्य बढेको कुथेली बुखरी स्मल हाइड्रोको वृद्धिदर जम्मा २.६८ प्रतिशत रह्यो । यो कम्पनी हाइड्रोपावर सेक्टरकै सबैभन्दा ‘लोक्याप’ कम्पनी हो ।
२ : ४५ बजेदेखि ३ : ०० बजेसम्म कारोबार हुने सेयरको भारित औसत मूल्य नै सो सेयरका लागि अन्तिम मूल्य हुने व्यवस्था लागु भएपछि कुनै पनि कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरै बढ्न सकेन ।
आजभन्दा भोलि, भोलिभन्दा पर्सि पोर्टफोलियो घटिरहेपछि कतिपय लगानीकर्ताले घाटा सहेर सस्तोमा सेयर बिक्री बढाएका छन् । जसले बजारलाई झन् झार्न बल पुगिरहेको छ ।
बजार छोटो समयमा ठूलो अंकले घटेका कारण जुनसुकै बेला प्रवृत्ति मोडिन सक्ने रानाभाट बताउँछन् । ‘छोटो समयमा धेरै नै अंक घटिसकेकाले जुनसुकै बेला बजारले आफ्नो लय परिवर्तन गर्न सक्छ, जसरी घट्यो त्यसैगरी बढ्न सक्छ ।’
बजार घट्दै जाँदा लगानीकर्तामा डर बढेको छ । आइतबार बजारमा ठूलो गिरावट आउनुको पछाडि एउटा सपोर्ट विन्दु भत्किनु पनि हो । दैनिक क्याडिन्लस्टिलको ट्रेन्डलाइनले बजारलाई २६४५ अंकमा राम्रो सपोर्ट देखाएको थियो ।
कारोबारका क्रममा सो सपोर्ट भत्किएपछि थप आक्रामक रुपमा बिक्री बढेको देखिन्छ । बजारलाई प्राविधिक रुपमा विश्लेषण गर्दै आएका लगानीकर्ता सुवासचन्द्र ढुंगाना दैनिक क्यान्डिलस्टिक चार्ट हेर्दा अबको सपोर्ट प्वाइन्ट २५७५ अंकमा रहेको बताउँछन् ।
‘प्राविधिक रुपमा हेर्ने टुल्स धेरै छन्, ती टुल्सले फरक फरक विन्दुलाई सपोर्ट देखाउँछ’ उनले भने ‘प्राइस एक्सनलाई धेरैले फलो गर्ने भएकाले सोअनुसार नेप्सेको अर्को सपोर्ट विन्दु २४६० अंकमा देखिन्छ ।’
माघको सुरुवातमा बजारले २५७५ विन्दुलाई ‘लोअर प्वाइन्ट’ बनाएको थियो । जसले गर्दा सो अंक नै अबको सपोर्टको रुपमा देखिएको छ । आजकै अंक २६१४ पनि एउटा सानो सपोर्ट विन्दु रहेको उनी बताउँछन् । सपोर्ट रहेकै कारण दिनभरको कारोबारमा सो अंकभन्दा तल नेप्से झर्न सकेन ।
एक दुई दिनमै बजारको प्रवृत्ति फेरिन सक्ने अनुमान लगानीकर्ताको छ । पछिल्लो तीन साताको अवधिमा सेयर लगानीकर्ताले ४ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको सम्पत्ति मूल्य गुमाएका छन् ।
फागुन १८ गते २८९० अंकमा पुगेको बजार अहिले २६१४ मा छ । फागुन १८ गते बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको मूल्य) हालसम्मकै उच्च ४७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो । आइतबार यो ४३ खर्ब ४१ अर्ब रुपैयाँमा झरेको छ ।
बजारको परिसूचक नेप्सेले २०७८ भदौ २ को रेकर्ड ३१९८ अंक तोड्न नसके पनि बजारको पूँजीकरणमा भने तीन साताअघि रेकर्ड बनेको थियो । नयाँ कम्पनीका सेयर थपिँदा बजारको अंक नबढे पनि पूँजीकरण वृद्धिको प्रभाव देखिएको हो ।
आजभन्दा भोलि, भोलिभन्दा पर्सि पोर्टफोलियो घटिरहेपछि कतिपय लगानीकर्ताले घाटा सहेर सस्तोमा सेयर बिक्री बढाएका छन् । जसले बजारलाई झन् झार्न बल पुगिरहेको छ ।
न्यून ब्याजदर, सबल वाह्य आर्थिक सूचक, पर्याप्त तरलताजस्ता प्रत्येक्ष बजार प्रभाव पार्ने विषय सकारात्मक हुँदा हुँदै पनि यतिबेला आन्दोलनका अलवा राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय पनि पर्खाइमा रहेको ढुंगाना बताउँछन् ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै नयाँ गभर्नरको नियुक्ति तयारी भइरहेको छ । सेयर बजारलाई प्रभाव पार्नेमा राष्ट्र बैंकले लिने नीति तथा कार्यक्रम मुख्य हुन थालेका छन् । यहीं कारण गभर्नर नियुक्तिको विषय बजारका लागि महत्वपूर्ण रहँदै आएको छ ।
चैत मसान्तको दबाबले पनि अहिले बजारमा खरिद पक्ष कमजोर देखिएको छ । ‘पहिले पहिलेको बजार हेर्दा पनि मार्च महिना त्यति सन्तोषजनक देखिँदैन’ ढुंगानाले भने ।
चैतमा तेस्रो त्रैमासको ब्याज भुक्तानीले पनि बजारलाई केही प्रभाव पार्दछ ।
सेयर धितोमा हाल कर्जा प्रवाह उच्च दरले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार यस्तो कर्जा चालु वर्षको माघ मसान्तसम्म ७ महिनामा २७ प्रतिशतले बढेर १ खर्ब १५ अर्ब पुगेको छ । सेयर कर्जा बढ्नु भनेको बैंकलाई तिर्नुपर्ने ब्याज तथा साँवा रकम पनि बढ्नु हो ।
कतिपयले ब्याज तथा साँवा भुक्तानी गर्नुपर्ने भएकाले खरिदमा आक्रामक देखिएका छैनन् । साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने समय आइसकेको छ, चैत मसान्तसम्म पूँजीगत लाभ हुने आधार नदेखेपछि रकम होल्ड भएको छ ।