४ चैत, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अहिले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल अघि नबढेको स्पष्ट पारेको छ ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराएका हुन् ।
‘सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन । त्यस्तो कुरा उठेको पनि छैन,’ उनले भने ।
नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलहरू पनि अहिलेकै संविधानको रक्षाका पक्षमा रहेको भन्दै सत्तामा आउनेबारे कुनै छलफल नभएको उनले बताए ।
‘अहिले विपक्षमा रहेका माओवादी लगायतका दलहरू पनि अहिलेकै संविधानको रक्षाका पक्षमा छन् । जुन गणतान्त्रिक व्यवस्था संविधानले व्यवस्था गरेको पक्षमा छन्,’ महतले भने, ‘सरकारमा आएपछि यो पक्ष बलियो हुने र नआउँदा कमजोर हुने भन्ने छैन । यो इस्यूमा सबै एकै ठाउँमा छन् ।’