नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको सुस्तास्थित एक घरमा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।
गाउँपालिका वडा नम्बर ३ सेख्वानामा आज मध्याह्न करिब १२ः३० बजेतिर विद्युत् सर्ट भई आगलागी हुँदा एकै घरका तीन जना जलेर घाइते भएका हुन ।
खर टाटी र त्रिपालले छोपेको करिब ४० मिटर लामो कच्ची घरमा ५ दाजुभाइको परिवार बस्दै आएका थिए । आगलागीमा परेर घाइते हुनेमा बर्ष ४० की सतारुल नेसा, बर्ष ३५ को निजामोदिन मिया र बर्ष २३ को तैमुरदिन मिया रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सरुताल नेसाको टाउको, दुवै हात र अनुहारको भाग जलि घाइते भएको, निजामुदिन मियाको दुवै हात र खुट्टाको पन्जाको भाग जलेको र तैमुरदिनको दुवै हातमा सामान्य जलन रहेको छ ।
तिनै जनाको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचार भइरहेको छ ।
आगलागी बाट नगद ,सुनचाँदी र अन्य जिन्सी सामान सहित २७ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
सुस्ता गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हरिलाल दुसादले पालिकाको बिपद् व्यवस्थापनको बैठक बस्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
















