२०८२ असार २५ गते, बुधबार १५:५५

सत्यको साथ: राजसंस्थाप्रति जनताको आस्था र भविष्यको परिकल्पना

– सोमबिक्रम सिंह 

नेपालमा राजसंस्थाप्रति जनताको आस्था गहिरो छ। तर, कतिपय व्यक्तिहरू अनावश्यक रूपमा भ्रम छर्ने, अफवाह फैलाउने र आफ्नै स्वार्थअनुसार व्याख्या गर्ने प्रयास गरिरहेका छन्। सत्य यहि हो कि राजसंस्थालाई झूटको खेतीको भर पर्न आवश्यक छैन। राजसंस्था भनेको सरल, सहज, शक्तिशाली, मृदुभाषी, धर्मपरायण, कर्तव्यनिष्ठ, कर्मशील तथा सत्यको प्रतीक हो।

 

केही समयदेखि, विभिन्न माध्यमबाट राजा ज्ञानेन्द्रलाई नजरबन्दमा राख्ने प्रयास गरिएको जस्ता भ्रामक प्रचारहरू फैलाइएका छन्। तर वास्तविकता भने यो सरकार राजसंस्थाप्रति यस्तो कुनै कदम उठाउने स्थितिमा छैन, न त त्यसको आँट नै राख्छ। राजसंस्था जनताको अभिमत र राष्ट्रको पहिचानसँग जोडिएको संस्था भएकाले कुनै पनि झूटो प्रचारले त्यसलाई कमजोर पार्न सक्दैन।

देशको वर्तमान अवस्था हेर्दा जनता निराश र आक्रोशित छन्। भ्रष्टाचार, लुटतन्त्र, दलाल प्रवृत्ति, विदेशी हस्तक्षेप, राष्ट्रघाती नीतिहरू लगायतका कारण नेपाल बर्बादीको सँघारमा पुगेको छ। अब समय आइसकेको छ— जनता सचेत हुने, सत्यको साथ खडा हुने, र राष्ट्रघाती तत्वहरूको प्रतिकार गर्ने।

राजसंस्थाको महत्त्व र भावी सम्भावना

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट प्रजातन्त्र दिवस (फाल्गुन ७) का अवसरमा जारी शुभकामना सन्देशमा राष्ट्रको वर्तमान स्थिति र भावी बाटोबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ। नेपाल महादेवको देश हो, जहाँ शाहवंशीय राजाहरूले सुदृढ राज्य सञ्चालन गरेका थिए। तर, बि.सं. २०४६ पछाडिको कालखण्डमा विदेशी हस्तक्षेपले देशलाई तहसनहस पार्दै लगेको छ। जातीयता, क्षेत्रीयता, लैंगिकता, वर्गसंघर्ष जस्ता कृत्रिम एजेन्डाहरू विदेशी शक्तिहरूले चलाएको प्रस्ट भइसकेको छ।

आज नेपालमा पत्रकार, कलाकार, साहित्यकार, मानव अधिकारकर्मी, महिलावादी संस्था हरू विदेशी शक्तिहरूको इशारामा समाजलाई विखण्डन गरिरहेका छन्। यस्तो अवस्थामा, जनताले अब अरूको आदेश पर्खिरहनु पर्दैन। सत्य स्पष्ट भइसकेको छ, अब यो सत्यको पक्षमा उभिने समय हो।

श्री ५ महारानी रत्न राज्यलक्ष्मी देवी शाहको सन्दर्भमा

श्री ५ महारानी रत्न राज्यलक्ष्मी देवी शाह ९० वर्ष पार गरी १०० वर्षतर्फ उन्मुख हुनुभएको छ। श्री ५ युवराजधिराज पारस वीर विक्रम शाहदेवले चार पटकसम्म हृदयाघात झेल्नु परेको छ। श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव इतिहासमै सर्वाधिक समय शासन गर्ने राजाहरू मध्येमा पर्नुहुन्छ। यी तीन राजकीय हस्तीहरूले अनेक बाधा, अवरोध र कठिनाइको सामना गर्दै पनि राष्ट्र सेवामा निरन्तर रहने इच्छाशक्ति देखाउनु भएको छ।

राजसंस्था पुनर्स्थापना भई श्री ५ महारानीले पुनः दरबारभित्रबाट राष्ट्रसेवा गर्ने अवसर पाउनुहुनेछ। श्री ५ युवराजधिराज पारस वीर विक्रम शाहदेवले आफ्नो पिता महाराजाधिराजलाई राजगद्दीमा पुनः विराजमान गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ। त्यस्तै, श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव तेस्रो पटक चक्रवर्ती राजा बन्ने ऐतिहासिक अवसर प्राप्त गर्न सक्नुहुन्छ। यस क्रममा श्री ५ युवराज हृदयेन्द्र शाहले भावी उत्तराधिकारीको रूपमा राजसंस्थाका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउनेछन्।

यसरी, बि.सं. २०८२ साल नेपालका लागि ऐतिहासिक मोड सावित हुन सक्छ। यो नवयुगको उद्घोष हुने छ, जहाँ सत्य विजयी हुनेछ र असत्य तथा असुर प्रवृत्ति समाप्त हुनेछन्।

सेना, न्यायपालिका र राष्ट्र सेवकहरूको भूमिका

नेपालको सेना, सुरक्षा निकाय, न्यायालय, प्रशासनिक संयन्त्रहरू राष्ट्रका अङ्ग हुन्। यी संयन्त्रहरू कुनै पनि हालतमा विदेशी प्रभावमा परेर राष्ट्रघात गर्न सक्दैनन्। राजसंस्थाको पुनर्स्थापनाका लागि यी सबै संयन्त्रहरूले ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्नेछ।

हालका भ्रष्ट न्यायालयहरू अन्यायलयमा परिणत भइसकेका छन्। राजनीतिक दलहरूको भागबन्डा, माफिया गठजोड र सेटिङमा आधारित फैसलाहरूले जनताको सम्पत्तिमाथि अन्याय भइरहेको छ। बि.सं. २०४६ पछि भएका सम्पूर्ण विवादास्पद फैसलाहरूको पुनरवलोकन आवश्यक छ। एक बलियो आयोग गठन गरी भ्रष्टहरूलाई आजीवन कारावासको सजाय दिने मात्र होइन, सामाजिक बहिष्कार गर्नुपर्छ।

नयाँ परिवर्तनकारी आन्दोलनको आह्वान

देशलाई दलाल, भ्रष्ट, विदेशी एजेन्डावादीहरूबाट मुक्त गर्न जनताले “सत्यको साथ” उभिनु आवश्यक छ। यो कुनै हावादारी कल्पना होइन, यो एक गम्भीर प्रतिज्ञा हो।

“सत्यलाई साथ” भन्ने मूल नारासहित, राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि एकजुट बनौं!

ॐ जय श्री शिव गोरख!

जय कर्मनिष्ठ!

जय मुक्ति अभियान!

जय देश, जय नरेश!

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM