२०८३ जेष्ठ ३० गते, शनिबार ०४:२९

दुई अध्यादेशको विपक्षमा बामदेव, प्रधानमन्त्रीले मागे सहयोग

बामदेव गौतम र केपी शर्मा ओली (फाइल तस्वीर)


१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य बामदेव गौतमलाई अध्यादेशमा समर्थन गरिदिन आग्रह गरेका छन् । जवाफमा गौतमले प्रधानमन्त्री ओलीलाई दुई वटा अध्यादेश फिर्ता लिन सुझाएका छन् ।

‘केपीजीले सम्पर्क गर्नुभएको थियो । उहाँले अध्यादेशमा सहयोग गर्नु भन्नुभयो । मैले भूमिसम्बन्धी र निजीकरण सम्बन्धी अध्यादेशमा सहयोग गर्न नसक्ने जवाफ दिएँ,’ राष्ट्रिय सभा सदस्य गौतमले सोमबार अपराह्न अनलाइनखबरसँग भने । बाँकी चार वटा अध्यादेशमा भने आफ्नो समर्थन रहने बचन दिएको गौतमले बताए ।

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो ।

त्यस अगाडि गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी भएको हो ।

निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो ।

यी ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ । तर, संसद्‌बाट स्वीकृत हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीले भूमि सम्बन्धी अध्यादेश र निजीकरण सम्बन्धी अध्यादेशमा पनि समर्थन गरिदिन आग्रह गरेको गौतमले सुनाए ।

‘समाजवाद कस्तो हुन्छ र कसरी नेपालमा समाजवाद ल्याउन सकिन्छ भनेर रुपरेखा तयार गरेर संसदमा सबै सांसदलाई बाँडेको छु । त्यसको अवधारणासित बाझिएर आएकाले दुईवटा अध्यादेशलाई समर्थन गर्न सक्दिनँ,’ प्रधानमन्त्रीसँगको संवाद सांसद गौतमले सुनाए ।

दुई वटा अध्यादेशमा किन समर्थन नगर्ने भनेर ओलीलाई गौतमले ब्याख्या गरेरै बुझाउने प्रयास गरे ।

‘कम्युनिस्ट पार्टीले समाजवाद निर्माण गर्ने भनेको भूमिमा हो । उत्पादन र भूमिमा आधारित भएर गर्ने हो । तर, जमिन माफियाहरूलाई प्रयोग गर्न सजिलो गरी दिने, बिक्री गर्ने र त्यसबाट राजस्व लिएर सरकार बलियो हुन्छ भन्ने जो अवधारणा आएको छ त्यसले समाजवाद ल्याउँदैन,’ गौतमको ब्याख्या छ ।

गौतमका अनुसार प्रधानमन्त्री ओलीले जवाफ फर्काएका छन्, ‘होइन, होइन । तपाईंले भनेजस्तो होइन ।’

राष्ट्रिय सभा सदस्य गौतमले सभामा अध्यादेश अघि बढे दुईवटाको विपक्षमा उभिने र चार वटाको पक्षमा उभिने बताए । ‘सरकारले अगाडि बढाउला एक दिन । त्यसबेला म दुईवटाको विपक्षमै रहन्छु बाँकीमा मेरो समर्थन रहन्छ,’ उनले भने ।

राष्ट्रिय सभाको बैठक यही फागुन २२ गते बस्दैछ । उक्त बैठकमा अध्यादेश अगाडि बढाउने सत्तारुढ दलहरूको तयारी छ । तर, सत्तापक्षतर्फ अध्यादेश अगाडि बढाउन आवश्यक मत संख्या भने देखिएको छैन ।

५९ सदस्यीय राष्ट्रिय सभामा अध्यादेश बहुमतले स्वीकृत गर्न ३० सांसदको समर्थन आवश्यक पर्छ ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, लोसपाको १, राष्ट्रिय जनमोर्चाको १ र मनोनीत ३ जना सांसद छन् । मनोनीत ३ मध्ये अन्जान शाक्य एमाले समर्थित हुन् ।

अर्का मनोनीत सांसद बामदेव गौतमले दुईवटा अध्यादेशको विपक्षमा उभिने बताएका छन् ।

अर्का मनोनित सांसद नारायण दाहाल राष्ट्रिय सभामा अध्यक्ष छन् । अध्यक्षले मत बराबर भएको अवस्थामा मात्रै मतदान गर्न पाउँछन् ।

यो संसदीय अंकगणितमा सरकारलाई अध्यादेश अगाडि बढाउन सकस छ । किनभने कांग्रेस (१६), एमाले (१०) र मनोनीत सांसद शाक्य अध्यादेशको पक्षमा उभिँदा २७ मत पुग्छ । बहुमतका लागि ३० मत चाहिन्छ ।

अंकगणितमा अप्ठ्यारो भए पास हुन सक्ने अध्यादेश अगाडि बढाउन सरकारलाई राष्ट्रिय सभा सदस्य गौतमको सुझाव छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM