२०८१ चैत्र २१ गते, बिहीबार ००:४९

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

बहुअपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने

सर्लाही, ३ फागुन – विद्यालयको पहुँचबाट बञ्चित बहुअपाङ्गता भएका २० जना बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने भएको छ। सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुर र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाले संयुक्त रूपमा सञ्चालित समुन्नति परियोजना अन्तर्गत हरिपुर, ईश्वरपुर, गोडैता र बलरा नगरपालिकाका ती बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने प्रयास थालिएको हो।

ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णुप्रसाद चालिसेका अनुसार, हरिपुरबाट ३ जना, ईश्वरपुरबाट ७ जना, बलरा र गोडैताबाट १० जना अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान गरिनेछ। विद्यालय जान नसक्ने ती बालबालिकालाई लक्षित गरी साक्षरता सहजकर्ताहरूलाई विशेष तालिम दिएर घरमै कक्षा सञ्चालन गरिने योजना छ।

नेपाल सरकारको संविधानले सबै नागरिकलाई आधारभूत शिक्षाको अधिकार प्रदान गरे पनि विद्यालय पुग्न नसक्ने बहुअपाङ्गता भएका बालबालिकाहरू शिक्षाबाट बञ्चित रहँदै आएका छन्। शारीरिक अपाङ्गता, दृष्टिविहीनता, श्रवण अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि यो कार्यक्रम पहिलोपटक सर्लाहीमा लागू गरिएको हो।

सहजकर्ताहरूलाई ५ दिने विशेष तालिम

घरमै विद्यालय सञ्चालन गर्न सहजकर्ताहरूलाई ५ दिने तालिम सर्लाहीको नयाँरोडस्थित सीता प्यालेसमा प्रदान गरिएको छ। तालिम सेभ द चिल्ड्रेन बर्दिवासका रामबहादुर साह, रुवा (RUPA) का शम्भु साह तेली, राम विश्वास चौधरी, आरआरपीके (RRPK) का चन्द्रशेखर सहनी र महेश कुमार मण्डलले सहजीकरण गरेका थिए।

तालिम पश्चात सहजकर्ताहरूले तीन वर्षसम्म शिक्षण कार्य गर्नेछन्। पहिलोदेखि तेस्रो कक्षा सम्मका बालबालिकालाई नेपाल सरकारको एकीकृत पाठ्यक्रम अनुसार घरमै पढाइनेछ। तीन कक्षा पूरा गरेपछि उनीहरूलाई अपाङ्गमैत्री विद्यालयमा समावेश गरिनेछ।

कार्यक्रमको अनुगमन हरिपुर नगरपालिकाका शिक्षा प्रमुख नागेश्वर राय ले गरेका थिए भने तालिमको समापन ग्रामीण नारी उत्थान संघ हरिपुरकी अध्यक्ष गोमा देवी न्यौपाने ले गर्नुभएको थियो। तालिममा रुवा र आरआरपीकेबाट १०/१० जना सहजकर्ताहरू सहभागी भएका थिए।

यो अभियानले अपाङ्गता भएका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्