२०८२ असार २५ गते, बुधबार १६:१३

विदेहनगरका मेयरका छोराले प्रशासकीय अधिकृत कुटे, उजुरी दिए गोली हान्ने मेयरको धम्की

विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साह (कालो कोटमा), नगरप्रमुख बेचन दास (बायाँ)। फाइल तस्वीर ।


२९ माघ, काठमाडौं।  धनुषाको विदेहनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. दीपेन्द्रकुमार साहमाथि कार्यकक्षमै कुटपिट भएको छ । मेयर बेचन दासका छोरा रामभजन दासले सोमबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत साहमाथि कुटपिट गरेका हुन् ।

घटनापछि प्रमुख प्रशासकीय अधिकृत साहले शान्तिसुरक्षा माग्दै प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका छन् । मेयर दासले समेत प्रहरीको उपस्थितिमा आफूलाई गोली हान्ने धम्की दिएको भन्दै प्रशासकीय अधिकृतले कुटपिट गर्ने तथा धम्की दिने मेयर र उनका छोरालाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतका अनुसार, शिक्षा सेवा आयोगबाट सिफारिस भएकी नि.मा.वि. सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराउँदा मेयरका छोरा रामभजन दास असन्तुष्ट बनेका थिए।

प्रमुख प्रशासकीय अधिकृत साहलाई कार्यकक्षमै कुट्ने रामभजन दास ।

सोमबार सोही विषयलाई लिएर रामभजनले गालीगलौज, धाकधम्की तथा कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृतको गुनासो छ । उनले अनलाइनखबरसँग भने, ‘यस घटनाबारे धनुषा प्रहरी प्रमुखलाई जानकारी गराएँ । तर प्रहरी, विदेह नगरपालिका–०७ का वडाध्यक्ष लगायतकै उपस्थितिमा मंगलबार बिहान साढे ११ बजे मेयर दासले गाली गर्दै मलाई गोली हान्‍ने धम्की दिनुभयो। उहाँले मलाई कुनै कानुनले रोक्न सक्दैन उहाँले त्रसित मानसिकता बनाइदिनुभयो।’

उनले आफूमाथि कुटपिट गर्ने मेयरका छोरा रामभजन दास र गोली हान्ने धम्की दिने मेयर बेचन दासलाई पक्राउ गरी उचित कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ‘प्रमुख प्रशासकीय अधिकृतको रुपमा अर्को व्यवस्था नहुन जेलसम्म सुरक्षा साथ काम गर्ने वातावरण मिलाउन अनुरोध छ,’ निवेदनमा उनले भनेका छन्।

मेयर बेचन दासले भने आफूले कसैलाई धम्की नदिएको बताएका छन् । बरू प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको प्रशासनिक काममा अटेरी गरेर जनतालाई दुःख दिइरहेको उनको भनाइ छ ।

‘मैले गोली हान्‍ने सरासर झुठ कुरा हो। बरू मैले सम्झाए धेरैपटक। तर, उहाँले मोबाइल अफ गर्नुभयो,’ मेयर दासले अनलाइनखबरसँग भने, ‘उहाँलाई मैले नै प्रमुख प्रशासकीय अधिकृत बनाएको हुँ। तर, अहिले नगरपालिकामा जनतालाई तर्साउने, गाली गलौज गर्ने र वृद्धवृद्धाको भत्ता पनि समयमा नपठाउने गरेर जनतालाई दुःख दिनुभएको छ ।’

मेयर दासले जनप्रतिनिधि भएकाले आफूले जनताको काम गर्नुपर्ने तर कर्मचारीले अटेर गर्दा हैरान हुने गरेको गुनासो गरे । ‘उहाँले प्रमुख प्रशासकीय अधिकृत भएर कुनै पनि काम समयमा गर्नुभएको छैन । जनतालाई तर्साउने काम मात्र गरिरहनुभएको छ। जनताले मलाई दिनदिनै फोन गरेर गुनासो गरिरहेका छन् । त्यसैले मैले सम्झाउने गरेको हुँ । उहाँ उल्टै रिसाउनुहुन्छ।’

इन्जिनियर सातौं तहका अधिकृत साह गत २ माघमा राष्ट्रिय सतर्कता केन्द्रबाट विदेह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM