छेन्दु । चीनको सिचुआन प्रान्तमा शनिबार गएको पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा बढी बेपत्ता भएका छन् ।
पहिरो स्थलबाट करिब २ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
यिबिन सहरको जुनलियन काउन्टीमा रहेको जिनपिङ गाउँमा बिहान ११ः५० बजे पहिरो गएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
चिनियाँ समाचार संस्था सीसीटीभीले स्थानीय अधिकारीलाई उद्धृत गरी लेखेको समाचारमा भनिएको छ, “पहिरोले करिब १० वटा घर पुरेको छ भने ३० जनाभन्दा बढी हराइरहेका छन् । पहिरोको जोखिम रहेको पहिरो वरपरको क्षेत्रबाट करिब २ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।”
घटनास्थलमा रहेका उद्धारकर्तालाई उद्धृत गर्दै सरकारी प्रसारकले भनेको छ, “समाचार तयार पार्दासम्म पहिरो अझै नरोकिएकोले पहिरो क्षेत्रमा नजान स्थानीय सर्वसाधारणलाई निर्देशन दिइएको छ ।”
चीनका राष्ट्रपति सी चिनफिङले अधिकारीहरूलाई ‘हराइरहेका व्यक्तिहरूको खोजी र उद्धार गर्न, हताहतहरू कम गर्न र त्यसपछिको स्थितिलाई उचित तरिकाले व्यवस्थापन गर्न’ निर्देशन दिनुभएको छ ।
राष्ट्रिय आपतकालीन व्यवस्थापन मन्त्रालयले एक अनलाइन पोस्टमा दुई जना पहिरोबाट सकुशल उद्धार गरिएको उल्लेख गरेको छ ।
आपतकालिन प्रतिक्रिया टोलीहरू जीवित व्यक्तिहरूको खोजीमा घटनास्थलमा पुगी काम गरिरहेको बताइएको छ। अधिकारीहरूले उद्धार र राहत प्रयासलाई सहयोग गर्न तीन करोड युआन (४१ लाख अमेरिकी डलर) पनि विनियोजन गरिएको बताएका छन् ।रासस/एएफपी