पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको फुटबल मैदानमा भएको पहिलो क्वाटर फाइनल खेलमा पुलिसले पाहुना टोली बेलायतको ब्रिगेड ब्वाइज क्लबलाई २—० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
पुलिसको जितमा विवेक पाण्डे र राम वाजीले एक/एक गोलको योगदान दिनुभयो । खेलको २८ औँ मिनेटमा पाण्डेले पुलिसलाई एक गोलले अग्रता दिलाउनुभयो भने खेलको ४० औँ मिनेटमा वाजीले एक गोल थप्दै जित सुनिश्चित पार्नु भयो । आजको खेलमा पुलिसका राम वाजी म्यान अफ दी म्याच घोषित हुनुभयो ।
नेपाल पुलिसले आयोजक सहारा क्लबलाई उद्घाटन खेलमा पराजित गर्दै क्वाटर फाइनलमा यात्रा बनाएको थियो भने ब्रिगेड ब्वाइजले सिधै वाई पाएर क्वाटर फाइनलको यात्रा गरेको थियो ।
भोलि (आइतबार) दोस्रो क्वाटर फाइनल खेलमा थ्री स्टार र मच्छिन्द्र क्लबबिच खेल हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो ।

















