बीरगंज । तोरी उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको पर्साको ठोरीमा अहिले किसानहरूलाई तोरी उखेल्न भ्याइनभ्याई नभएको छ ।
मङ्सिर महिनामा छरिएको तोरी अहिले पाकिसकेका कारण तोरी बाली भित्र्याउन किसानहरूलाई चटारो परेको हो ।
विगतमा गाँजा खेतीबाट बदनाम कमाएको ठोरीमा अहिले व्यवसायीक रुपमा नगदेबालीको रुपमा तोरी खेती हँुदै आएको छ ।
तोरीको अलवा यहाँका किसानहरुले सुर्ती खेतीबाट समेत मनग्य आम्दानी गर्दै आएका छन् । तर यस बर्ष किसानहरुले सुर्ती रोपिसकेपछि असोजमा भएको बेमौसमी बर्षाले सुर्तीका बोटहरू नष्ट भएपछि सो क्षेत्रमा समेत किसानहरुले तोरी बाली लगाएको कारण गत वर्षको तुलनामा यसबर्ष ठोरीमा तोरी बाली २५ प्रतिशतले वृद्धि भएको किसानहरुले बताएका छन् ।
बेमौसमी बर्षाले सुर्ती बालीलाई क्षति पुर्याए पनि तोरी बालीका लागि निकै फाइदा पुगेको ठोरी गाउँपालिका वडा नं.– ५ गडुवालाइनका किसान देवीप्रसाद दाहालले बताउनुभयो ।
बेमौसमी बर्षाले जमिनमा पानीको चिसो बसिरहेकाले गत वर्षको तुलनामा यस पाली तोरी राम्रो फलेको दाहालले दाबी गर्नुभयो ।
कृषिमा आधुनिकीकरण भएसँगै किसानहरुले उखेलेको तोरीलाई ४÷५ दिनमै थ्रेसरबाट दाइ गरी भित्र्याउन शुरु गरेको किसान दहालले बताउनुभयो ।

ठोरी गाउँपालिकाको तथ्याङ्क अनुसार यसबर्ष करिब १ हजार ८ सय बिघा जमिनमा तोरी खेती गरिएको छ । तोरी बाली राम्रो भएकाले प्रति बिघा १५ मुरी अर्थात् साढे नौ क्वीन्टल तोरी उत्पादन भएको ठोरी गाउँपालिका वडा नं.–४ विजयवस्तीका किसान अर्जुन श्रेष्ठले बताउनुभयो ।
यस बर्ष ठोरीमा मात्रै १ सय ७५ मैट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ ।
ठोरीमा अधिकांश घरका व्यक्तिहरू वैदेशिक रोजगारका लागि बाहिरी देश जाने प्रचलन बढ्दै गएको र अहिले तोरी भित्र्याउने बेला मजदुरको अभाव भएको स्थानीयले गुनासो गरेका छन् । ठोरीमा हाल तोरी उखेल्नका लागि सीमावर्ती भारतीय गाउँ सिस्वा, रामपुर, धुमाटाड जसौली, थुकहा, जिगना लगायतका गाउँबाट दैनिक एक हजार जना मजदुर कामका लागि आउने गरेको स्थानीय रामप्रकाश कुँवरले बताउनुभयो ।
बजारमा शुद्ध तोरीको तेलको माग बढेसँगै चितवनको भरतपुर तथा वीरगंजबाट ठोरीमा तोरी खरिदका लागि व्यापारीहरू घर घरमा पुग्ने गरेको र गत बर्ष किसानहरुले थ्रेसर लगाएको ठाउँबाटै १२ हजारदेखि १३ हजारसम्म प्रति क्विन्टलमा तोरी बिक्री गरेको जानकारी कुँवरले दिनुभयो ।
यस वर्ष १३ हजारकै हाराहारीमा प्रति क्विन्टल तोरी बिक्री हुने अपेक्षा किसानको छ ।