बाँके । बाँकेको राप्ती सोनारीमा ‘प्रथम राप्ती सोनारी कृषि, व्यापार एवं पर्यटन महोत्सव–२०८१’ सञ्चालन हुने भएको छ ।
राप्ती सोनारी उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा आगामी फागुन १ गतेदेखि ११ गतेसम्म राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनामा स्थित रङ्गशालामा महोत्सव हुने भएको हो ।
महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा राप्ती सोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुङ्गानाले कृषि पर्यटन व्यापार व्यवसाय प्रवर्धनका लागि महोत्सव गर्न लागिएको बताउनुभयो । “महोत्सवमा नवीनतम प्रविधिजन्य उत्पादनहरू, उत्पादित बस्तुहरू प्रमुख आर्कषण रहनेछन्”, उहाँले भन्नुभयो ।
अध्यक्ष ढुङ्गानाका अनुसार महोत्सवमा विभिन्न व्यापारिक, कृषि, सहकारी, राप्ती सोनारी र नरैनापुरको पर्यटकीय क्षेत्रको प्रचारप्रसारलगायत सम्बन्धी स्टलहरू रहनेछन् ।
महोत्सवमा व्यापार व्यवसायका साथै राष्ट्रिय तथा स्थानीय कलाकारबाट मनोरञ्जन प्रदान गरिने संघका महासचिव मोहन गौतमले जानकारी दिनुभयो । ‘“महोत्सवमा हरेक दिन स्थानीय एवम् राष्ट्रिय स्तरका साँस्कृतिक कार्यक्रम हुनेछन्”, उहाँले भन्नुभयो, “हामी राप्ती सोनारीका स्थानीय कलाकारलाई पनि कार्यक्रममा सम्झिनेछौँ ।” महोत्सव सञ्चालनका लागि राप्ती सोनारी गाउँपालिकासहित विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहकार्य हुने उहाँले बताउनुभयो ।

महोत्सव अवधिभर एक लाख ५० हजारदेखि २ लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ ।
स्थानीय अर्ग्यानिक, रैथाने कृषि उत्पादन, स्थानीय सिपबाट उत्पादित बस्तु, स्वदेशी उद्योगबाट उत्पादित बस्तुको संरक्षण, प्रवद्र्धन तथा बजारीकरणका लागि उद्योगी तथा व्यवसायीहरूलाई सहयोग पुराउँदै स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
बाँकेको राप्ती सोनारी तथा नरैनापुर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा प्रचार प्रसारका लागि पहल गर्न पनि महोत्सव सफल हुने विश्वास लिइएको छ ।
बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय हबका रुपमा विकास गर्नुका साथै पर्यापर्यटनका क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्न महोत्सवले मद्दत पुर्याउने आयोजकको अपेक्षा छ ।
महोत्सवबाट सङ्कलित रकमले राप्ती सोनारी उद्योग वाणिज्य सङ्घको संस्थागत विकासका लागि अत्याधुनिक भवन निर्माण गरिने आयोजकले जनाएको छ ।