Friday, February 7, 2025
घरसमाचारपढ्न अमेरिका आउँदै हुनुहुन्छ ? अनिवार्य गर्नुहोस् यी तयारी

पढ्न अमेरिका आउँदै हुनुहुन्छ ? अनिवार्य गर्नुहोस् यी तयारी

अबको केही महिनापश्चात् लाखौं विद्यार्थी एसईई परीक्षामा सामेल हुँदैछन्। अर्को केही महिनामा कक्षा १२ को परीक्षा पश्चात् अधिकांश विद्यार्थी उच्च शिक्षाको लागि विकसित देशहरूमा जान्छन्। नेपालका अधिकांश युवाको मुख्य उद्देश्य नै सम्भव भएसम्म विदेश जाने जस्तो देखिन्छ।

तीमध्ये पनि अधिकांश विद्यार्थीको प्रमुख उद्देश्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत जाने हुन्छ। नेपालमा अध्ययन गर्ने वा विदेशमा उच्च अध्ययन गर्न जाने विद्यार्थी हुन्, उनीहरूमा उच्च अध्ययनको तयारी लगभग शून्य जस्तै छ।

अपवाद छोडेर प्राय: सबै विद्यार्थी सम्भावना र क्षमता भएर पनि राम्रो विश्वविद्यालयमा कोसिस गर्नु भन्दा नेपाल छोडेर अर्को देश छिर्ने मनसायले निर्देशित देखिन्छन्। प्राय: सबै विद्यार्थीले खुरुखुरु १२ कक्षाको परीक्षा दिने र त्यसपश्चात् मात्र अब के गर्ने भन्ने लहलहैमा निर्णय लिन्छन्।

यो आलेखमा अमेरिकाका राम्रो विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गर्न र नेपालमै पनि उच्च अध्ययनको लागि कस्तो तयारी आवश्यक छ भन्ने बारे चर्चा गरिनेछ। यो आलेखको प्रमुख उद्देश्य नेपाली विद्यार्थीलाई विकसित देशमा जान प्रोत्साहन गर्ने होइन, तर उनीहरूलाई सकेसम्म राम्रो विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गर्न सहयोग गर्ने, उच्च अध्ययनको लागि आवश्यक तयारीको लागि प्रोत्साहन गर्ने र उच्च शिक्षा पश्चात् सीप र अनुभव सहित आफ्नै देशमा फर्केर सेवा गर्न आत्मविश्वास जगाउने हो।

सबैभन्दा पहिला दुई वटा उदाहरणबाट सुरु गरौं।

आरोन बस्न्यात अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित पेम्ब्रोक्पाइन भन्ने शहरमा बस्छन्। उनी अमेरिकामै जन्मे-हुर्केका नेपाली मूलका विद्यार्थी हुन्। कक्षा १२ मा अध्ययनरत आरोनलाई विज्ञान विषयमा स्नातक अध्ययन गर्ने चाहना भए पनि उनले ठ्याक्कै कुन विषय लिने भन्ने अझै निर्क्योल गरेका छैनन्।

त्यसैले उनले कक्षा ९ देखि नै ग्रीष्मकालीन बिदामा विभिन्न विधामा स्वयंसेवा गर्छन्। प्रत्येक वर्ष आफ्नो बुवा-आमासँग नेपाल आएर आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई सहयोग गर्छन्। उनीहरूलाई खेलकुदका सामान उपलब्ध गराउँछन्। अमेरिकामै बसेर पनि जुम मार्फत नेपालका दुर्गम भेगमा विद्यार्थीलाई गणित विषय पढाउँछन्। यति सानै उमेरमा आरोनले गरेको यी गतिविधिले उनमा एक अद्भुत नेतृत्व क्षमता विकास भएको देखिन्छ।

त्यसैगरी रिधिमा ढकाल अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस शहरमा बस्छिन्। उनी पनि आरोन जस्तै कक्षा १२ मा अध्ययनरत नेपाली मूलकी विद्यार्थी हुन्। उनको उद्देश्य भविष्यमा चिकित्सक बन्नु हो, जसको लागि अत्यन्त कठिन प्रतिस्पर्धा गर्नुपर्छ भन्ने कुरामा रिधिमा सचेत छिन्।

उनले पनि धेरै गतिविधिमा भाग लिन्छिन्। उनी राम्रो स्वरको धनी हुन्, त्यसैले नेपाली समुदायमा हुने सांस्कृतिक कार्यक्रममा मात्र होइन, आफ्नो विद्यालयलाई प्रतिनिधित्व गरेर अमेरिकामा राष्ट्रियस्तरको कन्सर्टमा अर्थात् गायन प्रतियोगितामा भाग लिन्छिन्।

आरोन र रिधिमाले गत वर्ष मलाई इमेल गरेर मेरो ल्याबमा छोटो समय अनुसन्धानको अनुभव लिने अनुरोध गरे। उनीहरूले औपचारिक प्रक्रिया मार्फत म कार्यरत नोभा साउथइस्टर्न विश्वविद्यालयमा मेरै ल्याबमा केही समय अनुसन्धानमा अनुभव प्राप्त गरे। त्यस पश्चात् रिधिमाले क्यालिफोर्नियाकै युनिभर्सिटी अफ अर्वाइनमा दुई हजार आवेदक मध्येबाट १०० जनामा छानिएर चार हप्ता विश्व प्रसिद्ध वैज्ञानिकहरूसँग अनुसन्धान गरिन्।

यी दुईवटा उदाहरण दिनुको अर्थ के हो भने अमेरिकामा विश्वविद्यालयमा भर्ना हुन खुरुखुरु कोर्स पढेर राम्रो प्राप्तांक मात्र प्राप्त गरेर हुँदैन। यहाँका विश्वस्तरीय विश्वविद्यालयमा भर्ना हुन पाँच वटा महत्वपूर्ण मापदण्ड हुन्छन्।

पहिलो, उनीहरूको प्राप्तांक हो। दोस्रो, उनीहरूले दिनुपर्ने एसएटी परीक्षाको प्राप्तांक हो। यी दुई स्वाभाविक मापदण्ड बाहेक आफ्ना शिक्षक वा आफूले स्वयंसेवा गरेको ठाउँको तीन वटा सिफारिस पत्र, उनीहरूको अतिरिक्त क्रियाकलाप लगायतको अनुभव र उनीहरूले लेख्नुपर्ने व्यक्तिगत निबन्ध हो।

हामीले बुझ्नुपर्ने अर्को कुरा के हो भने अमेरिकी विश्वविद्यालयमा भर्ना प्रक्रिया मेरिटको आधारमा हुन्छ। तर यहाँ तिर्नुपर्ने शुल्क चाहिं धेरै हदसम्म विद्यार्थीको आर्थिक क्षमतामा पनि भर पर्छ। त्यसैले अधिकांश नेपाली विद्यार्थीले आफूले सजिलै पाउन सक्ने छात्रवृत्तिलाई पनि पटक्कै कोसिस नगरी छुटाएका हुन्छन्

यी पाँच वटा मापदण्डमध्ये विश्वविद्यालयको विद्यार्थी भर्ना गर्ने निकायले विद्यार्थीलाई चिन्ने भनेको नै उनीहरूले आफ्नो बारेमा लेखेको व्यक्तिगत निबन्ध अर्थात् ‘पर्सनल एस्से’ हो। नेपाली विद्यार्थीहरू सबैभन्दा बढी यही निबन्धमा पनि चुकेको देखिन्छ।

अब अमेरिकी विश्वविद्यालयहरूले अपनाउने यी मापदण्डहरूबारे छोटोमा चर्चा गरौं।

अमेरिकी विश्वविद्यालयमा भर्ना खोज्ने प्राय: सबै विद्यार्थीले राम्रो प्राप्तांक प्राप्त गरेका हुन्छन्। यसकारण यी विश्वविद्यालयमा गरिने प्रतिस्पर्धा राम्रो प्राप्तांक हासिल गरेका उत्कृष्ट विद्यार्थीबीच हो भन्न सकिन्छ। विश्वभरिका विद्यालयहरूमा आ-आफ्नै परीक्षा प्रणाली हुने हुँदा विद्यार्थीहरू बीच साझा बिन्दु खोज्न लिने परीक्षा भनेकै एसएटी हो।

अमेरिकाका अधिकांश राम्रा विश्वविद्यालयहरूमा एसएटी आवश्यक हुने र राम्रो छात्रवृत्ति प्राप्त गर्न एसएटी अनिवार्य जस्तै हुने भएकोले अमेरिकामा उच्च अध्ययन गर्न चाहने विद्यार्थीले पहिलेदेखि नै एसएटीको तयारी गर्न जरूरी छ।

अमेरिकाका माध्यमिक तहका विद्यार्थीले उनीहरू ११ वा १२ कक्षामै हुँदा एसएटी परीक्षा दिएर उच्च अध्ययनको लागि एउटा मापदण्ड पूरा गरेर बस्ने गर्छन्। उनीहरूले समुदायसँग जोडिने खालका अतिरिक्त क्रियाकलापमा भाग लिएर माध्यमिक तहबाटै विश्वविद्यालयको लागि तयारी गरेका हुन्छन्।

अतिरिक्त क्रियाकलाप भनेको नेपाली विद्यालयहरूमा गराइने प्रकारका अतिरिक्त क्रियाकलापहरू मात्र होइनन्। यहाँ अतिरिक्त क्रियाकलाप भन्नाले विद्यार्थीले गरेको अनुसन्धान, स्वयंसेवा, सामुदायिक कार्यहरू जस्ता समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने कार्यहरू हुन्छन्। आरोन र रिधिमाको अनुसन्धान अनुभव अतिरिक्त क्रियाकलापकै उदाहरण हुन्।

यहाँ विद्यार्थीलाई माध्यमिक तहदेखि नै स्वयंसेवा मार्फत आफ्नो समुदाय वा समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने खालका गतिविधिमा सामेल हुन प्रोत्साहन गरिन्छ। यस प्रकारका कामलाई उच्च अध्ययनको एउटा मापदण्डमा राख्नुको कारण उनीहरूलाई देश र समाजप्रति उत्तरदायी बनाउनु र भविष्यमा आफ्नो समाज र समुदायप्रति जिम्मेवारीको अनुभूति गराउनु हो।

अमेरिकी विद्यालयहरूले विद्यार्थीलाई चिन्ने वा बुझ्ने अर्को महत्वपूर्ण मापदण्ड व्यक्तिगत निबन्ध अर्थात् पर्सनल एस्से हो। उक्त निबन्ध मार्फत विद्यार्थीले आफ्नो परिचय दिनुपर्छ र उच्च अध्ययनको लागि अमेरिका वा उक्त कलेज वा विश्वविद्यालय नै छनोट गर्नाको कारणबारे चर्चा गर्नुपर्छ।

विद्यार्थीले पर्सनल एस्से मार्फत आफ्नो लक्ष्य र आफूले अध्ययन गर्न चाहेको विषयका साथै आफ्नो समुदायप्रतिको प्रतिबद्धता व्यक्त गर्नुपर्ने हुन्छ। अध्ययन पूरा गरेपछि आफूले गर्न चाहेको योजनाका साथै आफूले विद्यालयमा गरेका राम्रा क्रियाकलाप र गतिविधिको बारेमा बताउनुपर्ने हुन्छ।

विद्यार्थीले विद्यालय जीवनमा गरेका नेतृत्वदायी भूमिकाको र त्यसबाट आफूले सिकेका सीपहरूको बारेमा पर्सनल एस्सेमा लेख्नुपर्ने हुँदा निम्नमाध्यमिक तहबाटै विद्यार्थीले उच्च अध्ययनको लागि आवश्यक पर्ने मापदण्डहरू पूरा गर्न तयारी थाल्नुपर्छ।

पर्सनल एस्से मार्फत विद्यार्थीले विद्यालयकालमा आफ्ना गुरुवर्ग, परिवार र समाजबाट आफूले सिकेको मूल्य, मान्यता, संस्कार र आफूलाई शिक्षाले दिएको ज्ञानको बारेमा चर्चा गर्छन्।

विश्वविद्यालयमा अध्ययनको लागि अर्को महत्वपूर्ण मापदण्ड मध्ये आफ्ना शिक्षक वा आफूले स्वयंसेवा गरेको ठाउँबाट सिफारिस पत्र लिनु हो। उक्त सिफारिस पत्रमा विद्यार्थीको विशेषता, उसका राम्रा पक्षहरू र ऊ राम्रो विद्यार्थी हो भन्ने कुरा खुलाएर लेखिनुपर्छ।

नेपालका विद्यार्थीका सिफारिस पत्रमा कैयौं समस्या देखिन्छन्। नेपालमा एउटै सिफारिस पत्र बनाएर सबै विद्यार्थीलाई एकै प्रकारको सिफारिस पत्र दिने प्रचलन देखिन्छ। त्यसैगरी सिफारिस पत्रमा विद्यार्थीका बारेमा अलि अस्वाभाविक लाग्ने विशेषण जोड्ने र अंग्रेजी भाषाका जटिल शब्दहरू प्रयोग गरेको भेटिन्छ।

त्यसैगरी विद्यार्थीमा आफूलाई अध्यापन गराएको शिक्षक/शिक्षिकाको भन्दा पनि अलि ठूलो पदमा रहेको व्यक्तिको सिफारिस पत्र लिनुपर्छ भन्ने भ्रम देखिन्छ। तर अमेरिकी विश्वविद्यालयमा उनीहरूले कुन पदमा रहेको व्यक्तिले सिफारिस पत्र लेख्यो भन्ने हेर्दैनन्।

उनीहरूले हेर्ने भनेको विद्यार्थीलाई नजिकबाट राम्रोसँग चिनेको व्यक्तिले लेखेको पत्र हो वा होइन भन्ने हो। त्यसैले आफ्नो क्याम्पसको प्रधानाध्यापकले भन्दा आफूलाई अध्यापन गरेको शिक्षक/शिक्षिकाको पत्र बढी सान्दर्भिक र विश्वसनीय देखिन्छ ।

विश्वविद्यालयको आवेदन प्रक्रियामा नेपाली विद्यार्थीले गर्ने गल्त

अमेरिकाका साधारण विश्वविद्यालयमा भर्ना पाउनु मात्र ठूलो कुरा होइन, तर तुलनात्मक रूपमा उत्कृष्ट मानिएका विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्नु चाहिं राम्रो उपलब्धि हो। हामीले बुझ्नुपर्ने अर्को कुरा के हो भने अमेरिकी विश्वविद्यालयमा भर्ना प्रक्रिया मेरिटको आधारमा हुन्छ। तर यहाँ तिर्नुपर्ने शुल्क चाहिं धेरै हदसम्म विद्यार्थीको आर्थिक क्षमतामा पनि भर पर्छ। त्यसैले अधिकांश नेपाली विद्यार्थीले आफूले सजिलै पाउन सक्ने छात्रवृत्तिलाई पनि पटक्कै कोसिस नगरी छुटाएका हुन्छन्।

उदाहरणका लागि सामीप्य तिवारी र अमूल क्षेत्रीले काठमाडौंबाट प्लस टु पास गरेर गत वर्ष टेक्सास स्टेट विश्वविद्यालयमा लगभग पूर्ण छात्रवृत्तिमा स्नातक तहमा भर्ना भए। दुवै जनाले कलेजको होस्टेलभन्दा बाहिरै बसेर पढ्न पाउने अनुमति प्राप्त गरेर होस्टेलमा तिर्नुपर्ने लाखौं रुपैयाँ बचाउन सफल भए।

यो उपलब्धि दुवैको प्राप्तांक मात्रले सम्भव थिएन, किनकि उनीहरूले भन्दा राम्रो प्राप्तांक प्राप्त गरेका विद्यार्थीले ठूलो रकम तिरेर त्यही विश्वविद्यालयमा भर्ना गरेका छन्। उनीहरूले पर्सनल एस्सेमा राम्रो मिहिनेत गरे, एसएटी परीक्षा दिए र कलेजसँग लगातार संवाद गरे। उनीहरूले गरेको तयारी र मिहिनेतले उनीहरूलाई अहिले ठूलो राहत मिलेको छ।

अमेरिकामा उच्च शिक्षा हासिल गर्नु अधिकांश विद्यार्थीको पहिलो रोजाइ होला तर, यसका लागि अमेरिका प्रवेश गर्ने ध्येय मात्रभन्दा पूर्ण छात्रवृत्ति लिएर राम्रो विश्वविद्यालयमा अध्ययन गर्ने अठोट र प्रयास गर्नु अत्यन्त महत्वपूर्ण छ। यसका लागि अमेरिका आउन चाहने विद्यार्थीले आफ्नो उच्च अध्ययनको बारेमा समयमै तयारी गर्ने संस्कार बसाल्न जरूरी छ।

साथै, आफूले गर्न सक्ने साधारण रिसर्च पनि नगरी पूर्णतया कन्सल्टेन्सीको भरमा उच्च अध्ययनको योजना बनाउनु त झन् गलत हो। त्यसैले नेपालमा नै अध्ययन गर्न चाहने विद्यार्थी हुन् वा विदेशमा, आफूले पहिलेदेखि नै तयारी गर्न सकियो भने मात्र आफ्नो गन्तव्यमा पुग्न सजिलो हुन्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -