२०८२ असार २२ गते, आईतवार ००:०४

बेलायतको हाउस अफ लर्ड्समा नगरकोटीका कविता, किशोर कायस्थका तस्वीर

२३ माघ, काठमाडौं। बेलायती संसदको माथिल्लो सदन ‘हाउस अफ लर्ड्स’मा नेपालका लेखक कुमार नगरकोटी तथा फोटो कलाकार किशोर कायस्थले आफ्ना कृतिहरु प्रस्तुत गरेका छन् ।

वेस्ट मिन्स्टरस्थित बेलायती संसद हाउस अफ लर्ड्समा मंगलबार आयोजित हिमालयन पुरस्कार समारोहमा नगरकोटीले नेपाली हिन्दी उर्दू र अंग्रेजी कविता वाचन गरेका थिए । मोक्षान्त काठमाण्डू फिभर, अक्षरगन्ज, फोसिललगायत दर्जन कृतिका लेखक नगरकोटीले आफ्नो बहुचर्चित कविता औंलाहरु, आमा म जन्मुँ कि नजन्मुँलगायत ४ भाषाका कविता सुनाए ।

त्यस्तै मुस्ताङमा २० वर्षयता देखा परेको परिवर्तनलाई क्यामेरामा उनेका कायस्थले काठमाडौंपछि बेलायतमा फोटो प्रदर्शनी गरेका हुन् ।

समारोहको प्रमुख अतिथिमा हाउस अफ लर्ड्सकी सदस्य ब्यारोनेस वर्मा उपस्थित थिइन्।

समारोहमा संस्कृति, पर्यटन, नवप्रवर्तन (इनोभेसन), र सामाजिक सेवाका क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्‍याउने सातजना उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरियो। यस कार्यक्रमको आयोजना सेन्टर फर नेपालीज कल्चर र नेपाल सेन्टर युके ले गरेका थिए, जसको उद्देश्य विश्वभर नेपाली संस्कृति प्रवर्द्धनमा समर्पित व्यक्तिहरूलाई सम्मान गर्नु हो।

हिमालयन पुरस्कार पाउने व्यक्तिहरूमा किशोर कायस्थ (नेपाल), रुबिना शर्मा (बेल्जियम), देवी गर्बुजा (पोर्चुगल), डा. विनिता कपूर (भारत), राजेश रेग्मी (बेलायत), स्नेहा श्रेष्ठ (बेलायत) र सुमन्त बत्रा (भारत) रहेका छन् । उनीहरूलाई सांस्कृतिक आदानप्रदानको प्रवर्द्धन तथा नेपाली सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसारमा पुर्‍याएको निरन्तर योगदानको आधारमा चयन गरिएको थियो ।

सांसद ब्यारोनेसले पुरस्कार वितरण गर्दै आफ्नो हालैको नेपाल भ्रमणको अनुभव साझा गरिन्। उनले नेपालको समृद्ध सांस्कृतिक विविधता र त्यसलाई कसरी सामाजिक-आर्थिक विकासमा रुपान्तरण गर्न सकिने बताइन् ।

पुरस्कारप्राप्त व्यक्तिहरूका अनुभव साझा पुरस्कार प्राप्तकर्तामध्ये भारतका कानूनी विज्ञ सुमन्त बत्राले भारतीय चलचित्र इतिहासको संरक्षण र सांस्कृतिक उत्सवमार्फत साहित्य प्रवर्द्धनमा गरेका आफ्ना प्रयासबारे बताए।

बेलायतस्थित नेपाली समुदायकी एक मात्र अभ्यासरत महिला वकिल स्नेहा श्रेष्ठले नेपालको मनमोहक प्राकृतिक सौन्दर्य र विविध सांस्कृतिक सम्पदाप्रति आफ्नो प्रेम प्रकट गरिन्।

समारोहमा ग्रीनविचका मेयर काउंसिलर जित रानाभाट, लेफ्टिनेन्ट कर्नल टोल खम्चा, सेलस्टियल रेडियोकी प्रस्तोता तथा स्व-सहायता नेतृ परवीन स्मिथ, पुरस्कार प्राप्तकर्ता राजेश रेग्मीले आफ्नो धारणाहरू राखेका थिए । उनीहरूले सामाजिक सेवामा पुर्‍याएको योगदान र सांस्कृतिक संरक्षणमा जोड दिनु पर्ने बताए ।

संस्थाले आगामी फेब्रुअरी ६ तारिखमा ल्यानकास्टर गेट, लन्डन मा अर्को सांस्कृतिक कार्यक्रम आयोजना गर्ने योजना समेत सार्वजनिक गरेको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM