फाइल फोटो
२३ माघ, झापा । झापाको कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
गएराति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए।
मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । घाइते अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए ।
प्रहरीले रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको सूचना अधिकारी चन्दले बताए । प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए ।