Sunday, February 9, 2025
घरसमाचारकाठमाडौंमा सवारी प्रदूषण परीक्षणले देखायो अत्यासलाग्दो तथ्य

काठमाडौंमा सवारी प्रदूषण परीक्षणले देखायो अत्यासलाग्दो तथ्य

२२ माघ,काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन हुने सवारीसाधनको प्रदूषण परीक्षण गरिरहेको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा गरिरहेको सवारी परीक्षणले डरलाग्दो तथ्य देखाएको छ ।

डिजेल सवारी ७० प्रतिशत बढी फेल

महानगर वातावरण विभाग प्रमुख सरिता राईका अनुसार हालै ५ सय ९९ सवारीसाधनमा गरिएको प्रदूषण परीक्षणमा ५८ प्रतिशत फेल भएका छन् ।

महानगरले ट्राफिक प्रहरीको सहयोगमा सडकमा गुडिरहेका ती सवारीसाधन परीक्षण गर्दा ३ सय ४५ वटाको धुवाँ उत्सर्जन मापदण्ड विपरीत पाइएको उनले बताइन् ।

महानगरले डिजेलबाट चल्ने ४ सय ५१ वटा गाडी जाँच गर्दा ३ सय २२ फेल भएका छन् । यस्तै पेट्रोलबाट चल्ने १ सय ४८ मध्ये २३ फेल भएका छन् । यसरी हेर्दा पेट्रोलका सवारीसाधन भन्दा डिजेलबाट चल्ने धेरै सवारी मापदण्ड विपरीत छन् ।

‘हामीले सवारीसाधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन महानगरभित्रका विभिन्न स्थानमा आकस्मिक परीक्षण गरिरहेका छौं । यसले प्रदूषणमा फेल हुने सवारीको संख्या धेरै देखिएको छ । विशेषगरी डिजेलबाट चल्ने सवारीमा धेरै समस्या देखियो,’ राई भन्छिन् ।

उनले केही साता सवारी परीक्षण गर्दा नै डरलाग्दो अवस्था देखिएको भन्दै महानगरले थप टोलीसहित परीक्षणलाई तीव्रता दिने बताइन् ।

‘महानगर आफूले नै कानुन बनाएर सवारी प्रदूषण परीक्षण गरेको हो । हामीले सवारीसाधनको डकुमेन्ट नै जफत गरेर कारबाही गर्न सक्छौं,’ राईले अनलाइनखबरसँग भनिन्, ‘पहिलो पकटलाई मौका दिएर छाडेका छौं । फेरि पनि त्यस्तै भेटिए ट्राफिक प्रहरीको समन्वयमा कारबाही गर्छौं ।’

राईका अनुसार प्रदूषण परीक्षणमा फेल भएका सवारीसाधनलाई सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभए क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको कारबाही गर्ने महानगरको तयारी छ ।

‘सञ्चालनमा रोक लगाउनु अगाडि सुधार गरेर चलाउने मौका दिइने छ । यो अवसरलाई प्रयोग गर्न अटेर गर्नेलाई जरिबाना तिराएर सञ्चालनमा रोक लगाइने छ,’ उनले भनिन् ।

उनले कतिपय सवारी परीक्षण कार्यालयबाट हरियो स्टिकर पाएर पास भए पनि महानगरको अनुगमनमा फेल भएको पाइएको समेत बताइन् ।

राईले अहिले सवारी प्रदूषण परीक्षणमा फेल भएका सवारीलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ । प्रदूषण नियन्त्रणका लागि २९ पुसदेखि थालिएको यो सचेतनात्मक कार्यक्रम नियमित चलिरहेको छ ।

महानगरले अहिलेसम्म कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन परीक्षण गरेको छ ।

यसरी फेल हुने सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बोलेरो, सामान बोक्ने ट्रक लगायत छन् ।

परीक्षणमा मापदण्ड बाहिर रहेका सवारी मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कबुलियतनामा गराइएको महानगर वातावरण विभागले जनाएको छ ।

उपत्यकाको प्रदूषणको प्रमुख कारण सवारी धुवाँ

वायु प्रदूषणबारे नै विद्यावारिधि (पीएचडी) गरिरहेकी वातावरण विभागकी निरीक्षक हसना श्रेष्ठ सिंह उपत्यकामा वायु प्रदूषणको मुख्य कारण नै सवारीबाट निस्किने धुवाँ हो ।

‘सवारीसाधनबाट निस्किने धुवाँको प्रत्यक्ष असर मानव स्वास्थ्य र वातावरणमा पर्छ । काठमाडौंमा लोड भएका गाडी, मर्मत नभएका गाडीले निकालेको धुवाँ हानिकारक छ,’ उनी भन्छिन् ।

उनले डिजेलबाट चल्ने सवारीमा धेरै समस्या आउनुको कारण नियमित मर्मत नहुनुलाई नै मान्छिन् ।

‘डिजेलबाट चल्ने सवारी नियमित मर्मत गरेर चलाउने हो भने ६६ प्रतिशत धुवाँ कम गर्न सकिन्छ । तर, नेपालमा सवारीसाधन नियमित ममर्त भएको देखिँदैन,’ सिंह भन्छिन् ।

उनका अनुसार काठमाडौं उपत्यकामा सवारीले प्रदूषण धेरै गराउनुको अर्को कारण जाम पनि हो ।

‘जाममा बस्दै गुड्दै गर्दा गाडीको इन्जिनले पनि फिल्टरिङको काम कम गर्ने र इन्धन धेरै खपत हुने भएकाले प्रदूषण स्वाभाविक बढ्छ,’ उनले भनिन् ।

यस्तै नेपालमा इन्धनका कारण पनि खराबी आएको हुन सक्ने उनले बताइन् । ‘पेट्रोलले भन्दा डिजेलले स्वभाविक रूपमा प्रदूषण बढी हुन्छ । त्यसमा पनि हाम्रोमा डिजेल कस्तो क्वालिटीको प्रयोग भइरहेको छ भन्ने कुराले अर्थ राख्छ,’ सिंहले भनिन् ।

सवारीलाई कारबाही गर्न मात्रै : यातायात व्यवसायी

सवारी प्रदूषणको दोष सवारी चालक र सवारी मालिकलाई मात्रै दिन नहुने यातायात व्यवसायीको भनाइ छ ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सवारी प्रदूषण परीक्षण गरेर सवारीलाई कारबाही गर्दैमा मात्रै समाधान नहुने बताए ।

‘आज सवारी प्रदूषण भएको कुरा हामीले मात्रै गरेको हो त ? हाम्रो गाडीमा प्रयोग हुने तेलको विषयमा राज्यले खोइ अनुमगन गरेको ? हाम्रा सवारी चालकले हालेको तेल गुणस्तरीय नहुँदा बिग्रेका इन्जिन कति होलान् ? दोष जति हामीलाई मात्रै दिएर हुन्छ ?,’ सिटौलाले प्रश्न गरे ।

उनले नेपालमा खुला सिमानाका कारण आएका गाडीका पार्टपुर्जा, उपकरण नक्कली हुँदा पनि गाडीमा समस्या सिर्जना हुने बताए ।

‘हाम्रो मोटर पार्ट्सहरू कस्ता प्रयोग हुन्छन् भनेर राज्यले कहिले अनुगमन गरेको छ ? ग्यारेजहरूको गुणस्तरबारे कहिले हेरेको छ ? सरकारका प्राविधिकले कहिले गाडीको मेकानिकल अध्ययन गरेका छन् ? अनि, हाम्रो गाडीले धुवाँ धेरै फाल्यो भनेर मात्रै हुँदैन नि !,’ उनले भने, ‘हाम्रा नयाँ गाडी यहाँ भएको बाटोले एक महिनामा पुरानो हुन्छ, हामीले नै प्रदूषण गरेको भन्दै एकोहोरो पेलाई मात्रै काम छैन । हाम्रो कुरा पनि सुन्नुपर्छ ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -