२२ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण रोक्न माग गर्दै सुरु भएको आन्दोलन स्थगित भएको छ । सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच सहमति जुटेसँगै मुक्कुमलुङ संरक्षक पक्षको आह्वानमा भइरहेको आन्दोलन स्थगित भएको हो ।
हिजो र आज भएको वार्तामा दुई पक्षबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य हाललाई स्थगन हुनेछ । स्टेसनका सन्दर्भमा आउँदो २७ माघमा हुने वार्तामा विस्तृत छलफल हुनेछ ।
यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको यस्तै, सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने छ । यसैगरी, गत १२ माघकाे घटनाको विषयमा छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने सहमति भएको छ ।
आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमतिमा उल्लेख छ ।
यससँगै मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने, मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न आगामी २७ माघमा पुनः वार्तामा बस्ने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।