२२ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सम्बन्धित सामग्री प्रर्दशनी आयोजना गर्न विविध संस्थासँग सहकार्य सम्झौता गरेको छ ।
चेम्बरको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माइस इन्टरनेसनल सर्भिस प्रालि, नेपाल स्पोर्ट्स एन्ड फिटनेस इन्डस्ट्री तथा नेपाल स्पोर्ट्स एसोसिएसनसँग सहकार्यका लागि सम्झौता गरेको हो ।
‘नेपाल स्पोर्ट्स कन्क्लेभ २०२५’, ‘नेपाल दोस्रो स्पोर्टस् एन्ड फिटनेस एक्स्पो २०२५’ एवं पाँचौं ‘स्पोर्ट्स च्याम्पियनसिप एन्ड एक्स्पो’ का लागि सहकार्य सम्झौता गरिएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतामा चेम्बरको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल स्पोर्टस एन्ड फिटनेस इन्डस्ट्रीका अध्यक्ष सुरज डंगोल, यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य निरञ्जन राजवंशी र माइस इन्टरनेसनलका निर्देशक दीपक थापाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता थियो ।
चेम्बर र खेलकुदका विभिन्न निकायबीच भएको सम्झौताले नेपालमा खेल क्षेत्रको विकास, अवसर सिर्जना एवं नीतिगत तवरमा सहकार्य हुने विश्वास गरिएको छ ।
चेम्बरसँग गरिएको सम्झौतापछि सरोकारवाला सबै निकायलाई एकीकृत गरी खेलकुद क्षेत्रको विकास गर्न रणनीतिक साझेदारीमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।
दोस्रो नेपाल स्पोटर्स कन्क्लेभमा समूहगत छलफल, कार्यपत्र प्रस्तुति लगायत कार्यका लागि चेम्बर अफ कमर्सले सहकार्य गर्ने छ । दोस्रो नेपाल फिटनेस एक्स्पोमा खेलाडी एवं फिटनेस उद्योगी, नयाँ खोज एवं फिटनेस क्षेत्रबारे बृहत जानकारी दिने उद्देश्य राखिएको छ ।
यस्तै चेम्बसँगको सहकार्यमा पाँचौं स्पोर्ट्स च्याम्पियनसिपको समेत आयोजना तयारी भएको छ । चेम्बर र विभिन्न खेलकुद संस्थाबीच आगामी तीन वर्षका लागि सहकार्यको सम्झौता भएको चेम्बरले जनाएको छ । यो सहकार्यले नेपालको खेल क्षेत्र र अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।