काठमाडौं । दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ले अहिले सामाजिक संजालमा चर्चा बटुलेको छ । टिकटक र रिल्समा मात्र होइन, यो गीतले युट्युवमा पनि लोभलाग्दो भ्यूज प्राप्त गरेको छ ।
युट्युवको पछिल्लो तथ्यांक हेर्दा, यसले अघिल्ला हिट गीतलाई समेत उछिनेर शीर्षस्थानमा कायम राखेको छ । सन् २०२५ को पहिलो महिना जनवरीको पछिल्लो साता (३० जनवरी)सम्मको डेटा हेर्दा एकै सातामा यो गीतलाई २७ लाख ६० हजार पटक हेरिएको छ ।
यो गीत फेब्रुअरी सुरु भएसँगै युट्युव चार्टको शीर्षस्थानमा समेत उक्लिएको छ । दुर्गेश जनवरी महिनामा युट्युव प्लाटफर्ममा नेपालभित्र धेरै हेरिने गायक (विदेशीबाहेक)को तेस्रो स्थानमा उक्लिएका छन् । उनी मंगलबार (फेब्रुअरी ४) सम्म सूचीको १२ औं स्थानमा स्ट्रिमिङ छन् । सूचीको पहिलो स्थानमा शान्तिश्री परियार र दोस्रो स्थानमा सुशान्त केसी छन् ।
जनवरीको अन्तिम साताको शीर्षस्थानमा ‘दुश्मन हेरेको हेर्यै’ हुँदा दोस्रो स्थानमा रहेको शान्तारानी परियारको ‘म त ढलेँ ढलेँ’लाई १९ लाख ८० हजार पटक हेरिएको छ । तेस्रो स्थानमा रहेको एसडी योगीको ‘रुकुम मैकोट’लाई १७ लाख ९३ हजार पटक हेरिएको छ । फिल्म ‘खुस्मा’मा समावेश यो गीत २३ साताअघि युट्युवमा रिलिज भएको थियो ।
चौंथोमा भारतीय गायक हिमेश रेशमियाँको गीत ‘तन्दुरी डेज’ छ, जसलाई १७ लाख ९१ हजार पटक हेरिएको छ । सीआइएक्सको गीत ‘थन्डर’लाई १२ लाख ८९ हजार पटक हेरिएको छ । जनवरी अन्तिम साता सुशान्त केसीको ‘बार्दली’लाई ११ लाख २० हजार पटक हेरिएको छ । रिलिजको १४ सातादेखि यो गीत अहिले पनि धेरै हेरिने सूचीमा समावेश छ ।
बलिउड डान्सर एवं गायिका नोरा फतेहीको ‘स्नेक’ उक्त अवधिमा नेपालमा धेरै हेरिने सातौं स्थानमा छ । यो गीतलाई सो अवधिमा १० लाख ५५ हजार पटक हेरिएको छ । यो गीतमाथि अहिले धेरै टिकटक र रिल्स बनेका छन् ।
२६ साताअघि रिलिज भएको बाबुकृष्ण परियारको ‘कश्मिरे पछ्यौरी’ सूचीको आठौं स्थानमा छ । यो गीतलाई ९ लाख ८४ हजार पटक हेरिएको छ । नवौं स्थानमा ‘बेबी मोन्स्टर’को अंग्रेजी गीत ‘रियल्ली लाइक यू’ छ जसलाई ७ लाख ४७ हजार पटक हेरिएको छ । दशौं स्थानमा यङ काईको गीत ‘ब्लू’ छ जसलाई ६ लाख १७ हजार पटक हेरिएको छ ।
एकदेव लिम्बुको ‘झिमझिमाउने आँखा’, लिल झोलाको ‘माला जालैमा’, जेम्सीको ‘रौसी लायो’, प्रकाश सपुतको ‘साँझ पर्यो झमक्क’, एआर रहमानको ‘तेरे बिना’, लेडी गागाको ‘डाइ विथ अ स्माइल’ शीर्ष २० को सूचीमा समेटिएका छन् ।