२०८३ असार १८ गते, बिहीबार १७:२३

पटेर्वा सुगौलीमा जिप र हात्ती सफारीसहित माघी महोत्सव सुरु

वीरगंज । वीरगंज तथा बारा पर्साका थारु समुदायहरूले आज माघी महोत्सव भव्य रुपमा मनाएका छन् । 

माघी महोत्सव मूल समारोह समितिद्वारा वीरगंजको आदर्शनगरस्थित स्विमिङ पुल परिसरमा आयोजित खिचडी तथा माघी महोत्सवमा विभिन्न थारु संस्कार झल्कने सांस्कृतिक कार्यक्रमको प्रस्तुतसँगै रक्तदान कार्यक्रम , थारु सांस्कृतिक झलक घाटो, समाचकेवा, झम्टा नाच प्रस्तुत गरिएको थियो । 

महोत्सव स्थलमा थारु, मधेसी, नेवारी, मारवाडी, मैथली समुदायमा लोकप्रिय रहेका खानाका विभिन्न परिकारहरूको स्टल पनि राखिएको कार्यक्रम संयोजक रामसुन्दर चौधरीले जानकारी दिनुभयो । खाना स्टलमा घोङ्गी, केकडा (गँगटो), माछा, हाँस, कुखुरा र परेवाको मासु , चिचर, तिल र भुजाको लड्डु इत्यादिका परिकारहरू प्रदर्शनी र बिक्रीका लागि राखिएको समितिले जनाएको छ । 

यसैगरि सो अवसरमा आज बिहान माघी महोत्सव मूल समारोह समितिको आयोजनामा वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रभात फेरी वीरगञ्जको आदर्शनगरस्थित स्विमिङ पुल परिसरमा पुगेर टुङ्गिएको थियो ।

थारु नयाँ वर्ष समेत रहेको आजको दिनलाई विशेष बनाउन उद्देश्यका साथ थारु संस्कृति, भाषा, साहित्य, पहिचानको प्रवद्र्धन र जगेर्ना गर्न प्रत्येक वर्ष माघी महोत्सव मनाउँदै आएको सामाजिक अभियन्ता प्रकाश थारुले बताउनुभयो ।

महोत्सवमा सहभागी व्यक्तिहरूबिच थारु समुदायको नयाँ वर्ष थारु संवत् २६४९ को शुभकामना आदानप्रदान गर्ने र भातृत्वको सम्बन्ध बिस्तार गर्न टेवा पुग्ने थारुले दाबी गर्नुभयो । माघे सङ्क्रान्ति थारु समुदायको मात्रै नभएर सबै नेपालीको एकताको पर्व भएको  थारुले बताउनुभयो ।

त्यसैगरी पर्साको पटेर्वा सुगौली गाउँपालिकामा माघी पर्वको अवसर पारेर जिप र हात्ती सफारीसहित माघी तथा भाथा महोत्सव सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन थारु समुदायका ज्येष्ठ नागरिक परमेश्वर गौरोले मङ्गलवार गाउँपालिका वडा नम्बर ४ स्थित खेल मैदानमा गर्नुभएको हो । 

गाउँपालिकाले आयोजना गरेको महोत्सवको मुख्य उद्देश्य स्थानीय धार्मिक तथा पर्यटकीय स्थल भाथा धामको प्रचार–प्रसार र पर्यटन प्रवद्र्धन गर्नु हो ।

महोत्सव स्थलमा थारु समुदायका परम्परागत खानाका परिकार, मौलिक पहिरन र भेसभुसासँगै ढकिया–पथिया, दुना–टपरी, नारी सुरक्षा सेनेटरी प्याड, कृषि औजारजस्ता स्थानीय उत्पादनहरू प्रदर्शनीका लागि राखिएका छन् । महोत्सवको पहिलो दिन आज रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले महोत्सवमा थारु लोकगीत र नृत्यसहितका सांस्कृतिक कार्यक्रम हरेक दिन आयोजना हुने बताउनुभयो । 

महोत्सवमा पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको प्रमुख धार्मिक पर्यटकीय स्थल दग्धेश्वरनाथ महादेव मन्दिर, भाथा धामसम्म पुग्न जिप र हात्ती सफारीको व्यवस्था गरिएको छ । महोत्सव स्थलदेखि भाथा धामसम्म जिप सफारीका लागि प्रतिव्यक्ति ६ सय रुपैयाँ र जिप तथा हात्ती दुवै सफारीका लागि १ हजार २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीका अनुसार भाथा धामको प्रचार–प्रसार गर्दै पर्यटकीय गतिविधिलाई प्रोत्साहन गर्न महोत्सव आयोजना गरिएको हो ।

तीन दिने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ। उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, माघी मूल समारोह समितिका संयोजक मुकेश गौरो, पाँच वटै वडाका वडाध्यक्ष र थारु समुदायका अगुवाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

थारु समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्ने यो महोत्सवले स्थानीय र बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM