Sunday, January 5, 2025
घरविचारटोपीभित्रको पुरुषत्व र नारी पहिचान

टोपीभित्रको पुरुषत्व र नारी पहिचान

विजया पन्त

–विजया पन्त

टोपी दिवसका अभियन्ताहरु, राष्ट्रिय पोषाकका संरक्षकहरू, हार्दिक धन्यवाद । जब मानव सभ्यताको विकास जङ्गली युगबाट क्रमशः आधुनिकतातिर उन्मुख भयो । त्यसै समयमा नै पोशाकको विकास भयो । त्यति बेला पोशाक शरीर ढाक्ने वस्तुका साथै चिसोबाट जोगाउने काम पनि प्रयोग भयो होला । विश्व नै एउटा नभएर विभिन्न राष्ट्रमा विभाजन भयो । पोशाकले शिर, हातखुट्टा र ज्यान ढाक्ने वस्तु मात्र नभएर राष्ट्रको पहिचान पनि बन्न पुग्यो । जब आज पनि विश्व सम्मेलन वा विभिन्न मुलुकका नागरिकको भेलामा कुनै नेपाली सूर्यचन्द्र अंकित झण्डामुनि दौरासुरुवाल र ढाका टोपीमा देखिन्छ । त्यतिबेला कुन नेपाली नागरिकको गौरवले छाती फुलेर नआउला र ?

गणतन्त्रको स्थापना पछि संविधान बन्ने क्रममा संविधानमा जाति, भाषा, धर्म, संस्कृतिले स्थान पाउँदा राष्ट्रिय पोशाकको स्थान पाउन नसक्दा कतै नेपाली पहिचानको पोशाक नै हराएको त हैन भन्ने अवस्थामा टोपी दिवसका अभियान्ताहरू जनवरी १ तारिखलाई टोपीदिवसको रुपमा मनाउने हिम्मत गरेकोमा उहाँहरूप्रति हृदयदेखि सलाम छ । नेपाली पोशाक र नेपालीको पहिचान विश्वमा नै छर्दै १२ औँ टोपी दिवस भव्यता र उत्साहका साथ मनाएको पाइयो । नाम टोपी दिवस भए पनि यो पुरुषको पोशाक दौरासुरुवाल र टोपीको पहिचान र संरक्षणको अभियान हो भन्ने बुझाइ रहेको छ ।

टोपी दिवसमा पुरुष मात्र होइन महिला झन धेरै शिरमा ढाका टोपी ढल्काएर रमाएका थिए । यसले देखाउँथ्यो ढाका टोपी पुरुषको नभएर महिलाको पहिचान हो कि ? प्रकृतिले नै महिला र पुरुष छुट्याएको छ । प्रकृतिले छुट्याएपनि समाजिक रुपमा हामी एक हुनु पर्छ भन्ने भावना महिला अधिकारकर्मीमा रहेको छ । यो कुरा सत्य पनि हो । यो कुरा ठिक पनि हो । महिला र पुरुष सामाजिक प्राणी हुन् र समाजमा समान अधिकार र दायित्व हुनु पर्छ । यसो भनिरहदा हामी हाम्रो पोशाकको पहिचान खोज्न छोड्यौँ भने नेपाली नारीको पहिचान नै समाप्त हुने त होइन ? कि त महिलाले पनि नेपाली महिलाको पोशाक सर्टपाइन्ट र टोपी बनाउन सक्नु पर्याे कि त दौरासुरुवालमा रमाउन पर्यो । हैन भने राष्ट्रिय पोशाकको दिन सर्टपाइन्ट र टोपीमा रमाउँदा आफ्नो पहिचानको धरापमा राखेर अरुको पहिचानमा रमाउँदा नारी भएको नाताले कतै कसैलाई दुखेन ?

अधिकांश नारीहरू ढाकाटोपी लगाएर सामाजिक सञ्जालमा फोटो टास्ने काम पनि गरे । त्यो रमाइलो मात्र थियो कि पहिचानको खोजी ? हिजो र आजको नेपाली भाषा र पोशाकको खाडल हेर्ने हो भने भोलि भाषा इतिहासमा र गुनियो चोली म्युजियमको सोकेसमा खोज्नु नपर्ला भन्न सकिदैन । यस्तो अवस्थामा आफ्नो पहिचानको पोशाक खोज्नुको सट्टा सार्टपाइन्ट र टोपीमा रमाएको देख्दा पुरुषत्व कति बलवान छ भन्ने लाग्छ । पुरुष प्रधान समाज भन्दै गाली गरे पनि टोपी भित्रको पुरुषत्वले तानेको त हैन भन्ने लाग्छ । यस्ता फोटा राख्ने आफूलाई शिक्षित र ठूला ठान्नेहरू नै हुन् । महिलाले शिरमा लगाएको टोपीले नेपाली गौरवको उचाइ नाप्दै गर्दा तलको कुर्ता सुरुवार वा पाइन्टले नाङ्गो पहिचान दिइरहेको थियो । खै नेपाली नारीको पहिचान ? खै नेपाली नारीको पोशाक ? के पुरुषको पोशाकमा रमाउँदैमा हाम्रो पहिचान उच्चो होला त ? यसो भनिरहदा म पुरुषको पोशाकको अपहेलना गरेकी होइन । हृदयबाट सम्मान छ संविधानमा नलेखिएको पोशाक बचाउन एउटा दिवसको रुपमा सुरुवात गरेर नेपाली पहिचान दिएकोमा तर महिलाले आफ्नो पहिचानलाई विर्सेर विशेष दिवसको दिन टोपी लगाउनु कति उचित थियो वा अनुचित ?

हरेक जाति र लिङ्गका आफ्नै पोशाक छन् । पोशाकको सम्मान गर्नु भनेको त्यो जाति र लिङ्गको सम्मान हो । सम्मान शरीरमा लगाएर मात्र हुँदैन । कसैको पोशाकलाई हेलत्व र हेयका दृष्टीमा नहेर्नु नै सम्मान हो । म आम नारीलाई सोध्छु । भोलि महिलाले कुनै दिनलाई गुनियोचोली दिवसको रुपमा पोशाक दिवस मनाउन थाले भने के पुरुषले गुनियो चोली लगाउनु होला त ? आज सम्म मैले देखेको कुरा जब महिला जस्तो लाछि, असक्त, कमजोर संज्ञामा पुरुषलाई देखाउन पर्यो भने धोती, चोलो, चुरा, पोते दिने गर्छन् । आजको एक्काइसौँ शताब्दीमा आउँदा पनि यस मानसिकताबाट माथि उठ्न नसकेका कुरा सर्वविदितै छ । यो भनाइले अझै पनि महिला कमजोर छन् भन्ने हो । सर्टपाइन्ट र टोपीले मात्र हामीलाई माथि उठाउने होइन । हाम्रो पहिचान सहित समाजको एउटा भाग महिला हो भन्ने कुरा देखाउन महिलाको पहिचान पनि खोज्नु पर्छ भन्ने कुरा उच्च तहमा पुगेकालाई नियाल्दा हुन्छ । त्यसका ज्वलन्त उदाहरण हुन्ः पूर्व राष्ट्रपति विद्या देवी भण्डारी, पूर्व सभामुख ओनसरी घर्ती, पूर्व प्रधान न्यायधीश सुशीला कार्की, हिमानी शाह । म एउटा नारी भएको कारण उहाँहरूको शक्ति, साहस र पहिचान मुक्तकण्ठले प्रशंसा गर्न सक्नु पर्छ भन्ने लाग्छ ।

महिलाहरू यस उच्च स्थानमा पुगिसकेको मात्र होइन अधिकारसँगै आफ्नो पहिचान खोजिरहेको बेलामा पनि मन्त्रीको मन्त्राणी, हाकीमको हाकिमनी, नेताको नेतिनी, हेडसरको हेडसर्नी …….. आदि भएर आफ्नो पहिचानमा भन्दा पुरुषकै पहिचानमा रमाउने त हैन ? भन्ने संकेत महिलाहरू टोपीमा रमाएको देख्दा लाग्छ । हरेकको आफ्नै मूल्यको महत्वपूर्ण स्थान रहन्छ । सूर्यमा शितलता र चन्द्रमामा ताप भयो भने दुबैको अस्तित्व समाप्त हुन जान्छ । विकसित देशमा पनि महिला पुरुषको आफ्नै पोशाक छ भन्ने कुरा परिवर्तन र अधिकार खोज्दा भुल्नु हुँदैन ।

टोपी दिवसको दिन जनवरी १ तारिख होस् वा पुष २७ गते राष्ट्रिय एकताको दिन पोशाक दिवसमा होस् राष्ट्रिय पोशाक महिला र पुरुषको हुन सक्नु पर्छ र महिला र पुरुषको पोषाकको सम्मान गर्दै हातमा हात मिलाएर राष्ट्रिय पोषाकको संरक्षण गर्न सक्नु नै नेपाली पहिचान हो । जय नेपाली पोषाक ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -