२०८३ बैशाख २२ गते, मंगलवार ०४:४०

गृहमन्त्रीको पुतला जलाउने काँग्रेस नेताको चेतावनी

वीरगंज/ वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहमाथि कारवाही नभए नेपाली काँग्रेसबाट गृहमन्त्री भएका रमेश लेखको पुत्ला दहन गर्ने चेतावनी एक काँग्रेसी नेताले दिएका छन् ।
नेपाली काँग्रेसको गठबन्धनबाट वीरगंज महानगरकोनगर प्रमुख बनेका सिंहले एकपछि अर्को सामाजिक र कानुनी अपराध गर्दै आएको भएपनि नियमानुसार कारवाही नभएपछि कानूनी राज्य व्यवस्थाबाट असन्तुष्ट भएका नेपाली काँग्रेस
पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद सहाबुद्दिनले त्यस्तो चेतावनी दिएका हुन् ।
हाम्रा कुरा डटकममा दीपेन्द्र चौहानद्वारा लेखिएको समाचार अनुसार नेपालीहरुको महान् चाड दशैँ शुरु भइसकेकामा नगरवासीहरुको सेवा सुविधालाई ध्यान दिनु पर्ने मेयर सिंहले सोमबार बिहान आफ्नो बुबा समान उमेर भएका नेपाली काँग्रेस पर्साका पुराना नेता वडा नं १७ का बुथ सभापति शिवओमबहादुर लामिछानेको एक्कासी कठालो समातेर लछार पछार गर्न खोजेका थिए ।

लामिछानेका छोरा सुदर्शन लामिछानेले प्रतिकार गर्न खोज्दा मेयर सिंहसँगै रहेका नगर प्रहरीहरुले सुदर्शनलाई कुटपिट गरी गाडीमा राखेर अपहरणको शैलीमा भागेका थिए ।

पानीको कुलो सम्बन्धी विवाद बढेको र मेयरले कठालो समातेपछि आफूले पनि मेयरको कठालो समातेको शिवओम लामिछानेको भनाइ छ।

‘छोरा सुदर्शनको अगाडि नै मेयरले मलाई कठालो समातेर अपमान गरेको उसले देख्न सकेन उसले प्रतिकार गर्न खोज्दा मेयर सिंह र उनीसँग रहेका नगरप्रहरीले छोरालाई कुट्दै जबर्जस्ती गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका छन्’, शिवले भने ।

अर्काको श्रीमतीलाई आफ्नो नक्कली श्रीमती बनाई उनकी छोरीलाई नागरिकता दिलाएकोमा कारबाहीको माग गर्दै निकालिएको जुलुशमाथि मेयर सिंहका व्यक्तिले आक्रमण गर्दा नेविसंघ पर्साका अध्यक्ष ई.रमेश यादवको नाक भाँचिएको र उनको उपचार राजधानी काठमाडौँमा गराइएको थियो ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहमद सहाबुद्दिनले मेयर राजेशमान सिंहको गुण्डागर्दीले सीमा नाघेको भएता पनि सरोकारवाला सबै चुप भएर बसेको बताए । उनले आफू जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर घाइते भएका सुदर्शनको उपचार गराएर घर पठाएको बताए ।

सुदर्शन लामिछानेले आफ्नो टाउकोमा ६ वटा टाँका लागेको र आफूसँगै सुखाडी राउत कुर्मी, प्रयास राउत कुर्मी घाइते भएकाले जिल्ला प्रहरी कार्यालय पर्सामा घाउ जाँच केश फारम गराई मेयर राजेशमान सिंहमाथि आजै कारबाहीको लागि उजुरी दर्ता गराएको बताए ।

आज गाउँलेहरु वीरगंज सिर्सियाको मुख्य सडकमा ब्यानर राखेर धर्ना रिले अनसन बसेका छन् । मेयर राजेशमान सिंहले गाउँलेहरुको अगाडि पुगेर माफी नमागेसम्म रिले अनशन जारी रहने र कीर्ते नागरिकता प्रकरणमा मेयर सिंहमाथि दशैँपछि कारबाही अगाडि नबढाए गृहमन्त्री रमेश लेखकको पुत्ला आफ्नै नेतृत्वमा दहन गरी विरोध प्रदर्शन गर्ने कुरा आजै टेलिफोन मार्फत गृहमन्त्री लेखकलाई जानकारी गराएको मोहमद सहाबुद्दिनको कथन थियो ।

मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासलाई मेयरमाथि हातपात भएको हो कि उनले मान्छे कुट्दै हिँडिरहेका छन् ? भनी सोध्दा उनले आफू दिनभरी आमाको उपचारमा व्यस्त रहेकोले बताउन नसक्ने जानकारी दिए ।

मेयरका स्वकीय सचिव सत्यराज घिमिरेलाई मेयरले कुटे कि कुटाई खाए सचिवालय किन मौन छ ? भनी सोध्दा उनले पनि छोरा बिरामी परेकोले ढिलो आएको विभिन्न वडाका अध्यक्षहरु अहिले बसिरहेको भनी आफूलाई कुनै जानकारी नभएको भनी पन्छिए ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM