२०८३ बैशाख २२ गते, मंगलवार ०४:४५

स्वच्छ पत्रकारिताले मात्र आदर्श समाज स्थापना हुन्छ: वरिष्ठ पत्रकार झा

राधेश्याम साह/

रौतहट / वरिष्ठ पत्रकार प्रभात कुमार झाले स्वच्छ र निष्पक्ष पत्रकारिताले मात्र आदर्श समाज स्थापना हुन सक्ने बताउनु भएको छ।

संगम खबरले आइतवार रौतहटमा आयोजना गरेको बडा दशैँ, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको आशनबाट वरिष्ठ पत्रकार झाले सो कुरा बताउनु भएको हो।

वरिष्ठ पत्रकार झाले पत्रकारिताका माध्यमबाट आदर्श समाज स्थापनाका लागि आफैंले स्वच्छ, निस्पक्ष, निर्भीक रूपमा उपस्थित जिम्मेवारीपूर्वक सही सूचना सम्प्रेषण गरी समाजमा उत्प्रेरणादायी भूमिका निर्वाह गर्नेछु भन्ने भावना पत्रकारहरूले जागृत गर्नु पर्नेमा जोड़ दिनु भयो।

विश्वमै शक्तिशाली र गरिमामय मानिएको पत्रकारिता पेशा नेपालको सन्दर्भमा सोचेअनुरूप विश्वसनीय हुन नसकिएकाले आफै लाजमर्दो कुरा हुन नदिने सचेतता गराउँदै नेपाली पत्रकारितामा सबै पक्षबाट विश्वसनीयता बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

त्यस्तै पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले पेशागत आचरण र मर्यादा विपरीतका कर्म कहीँ कतै पनि हुन नहुनेमा जोड़ दिनु हुँदै पेशागत आचरण पालन नगर्ने हो भने समग्र पेसा नै ‘बेलगामको घोडा’ सरह बन्ने बताउनु भयो ।

नेपाली पत्रकारिताको पेशागत आचरणलाई आचारसंहिताले समेटेको हुन्छ । पत्रकार आचारसंहिताले पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउने गरेकोले कसैले अचारसंहिता बाहिर गएर काम गर्न नहुने बताए ।

कार्यक्रममा महासंघ रौतहटका पूर्व रवीन्द्र प्रसाद साहले रौतहटका क्रियाशिल रहेका पत्रकारको पत्रकार महासंघ, रौतहट को नयाँ सदस्यता नदिइएको र नविकरण छुटाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सदस्यता विवाद टुंगो नलगाई अधिवेशन गर्ने तयारी शुरु नहुनु पर्नेमा जोड दिनु भयो।

संगम खबरका अध्यक्ष दिनेश कुमार यादव (संगम)को अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटशाखाका पूर्व अध्यक्ष शैलेन्द्र कुमार गुप्ता, प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष उतम कुमार उपाध्याय , महासंघ शाखा रौतहटको सह-सचिवलगायत रौतहटका विभिन्न संगठनका पदाधिकारी सहित पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले चाडपर्वलाई मितव्ययी ढंगले मनाउँदै संस्कृतिको प्रवर्द्धनमा जोड दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM