काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच शिष्टाचार भेट भएको छ ।
आज बिहान मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र संयुक्त राज्य अमेरिकाबिच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको बताउनुहुँदै सम्बन्ध सरकारको तहमा मात्र नभई जनस्तरमा समेत उत्तिकै प्रगाढ रहेको बताउनुभयो ।
दुई मुलुकले लोकतन्त्र, मानव अधिकार, अहस्तक्षेप, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको बताउनुभयो । अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको र नेपालको आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पुर्याएको सहयोगका लागि अमेरिकी सरकारप्रति उच्च कदर व्यक्त गर्नुभयो ।
संयुक्त राज्य अमेरिकाबाट प्राप्त विकास सहायताले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
मन्त्री भण्डारीले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुक हुने अवस्था एवम् नेपालको भूपरिवेष्टित अवस्थिति, साँघुरो उत्पादनमूलक क्षेत्र र न्यून उत्पादन क्षमता तथा उत्पादकत्वलाई मध्यनजर गरी नेपाल व्यापार प्राथमिकता कार्यक्रमलाई निरन्तरता दिनको लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभयो ।
आगामी दिनमा नेपालमा अमेरिकी लगानी थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । जलविद्युत् तथा अन्य हरित ऊर्जा, सूचना तथा प्रविधि, पर्यटन, उत्पादनमूलक र अन्य क्षेत्रमा लगानी वृद्धिको लागि अधिकतम प्रयासको अपेक्षा व्यक्त गर्नुभयो । विशेषगरी जलविद्युत तथा स्वच्छ ऊर्जाको क्षेत्रमा गरिने लगानीले नेपालको विकासमा मात्र नभई जलवायु परिवर्तनको बृहत्तर एजेन्डामा समेत योगदान पुर्याउने भन्दै आपसी सहकार्यको लागी आग्रह गर्नुभयो । जवाफमा राजदूत थम्सनले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा सहकार्य जारी रहने बताउनुभयो । विगतमा रोक्का हुने भनिएको युएस–एआइडीको कार्यक्रम निरन्तर हुने बताउनुहुँदै उहाँले नेपाल र अमेरिकाबिच सन् २०११ मा सम्पन्न व्यापार तथा लगानी कार्य ढाँचा सम्झौता (टिफा)को बैठक आगामी सेप्टेम्बर १६ र १७मा नेपालमै बस्ने बताउनुभयो ।