Thursday, July 18, 2024
घरपत्रपत्रिकामन्त्रीहरू नै हुण्डी कारोवारमा संलग्न छन्–प्रभु साह

मन्त्रीहरू नै हुण्डी कारोवारमा संलग्न छन्–प्रभु साह

काठमाडौं ।आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले हुण्डी कारोवारमा मन्त्रीहरु नै संलग्न रहेको आरोप लगाएका छन् । सरकारका मन्त्रीका साथै ठुलाठुला व्यापारी घरानाहरु नै हुण्डी कारोवारमा संलग्न देखिएकाले सरकारको यस बारेमा धारणा के हो भन्दै उनले प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले हुण्डी कारोवारका कारण मुलुकको खर्बौं रकम बाहिरिनुका साथै मुलुकमा भ्रष्टाचार दिनदिनै बढदै गएको र मुलुक आर्थिक रुपमा कमजोर बनेको टिप्पणी गरेका छन् ।

‘सरकारका उच्च ओहदाका मान्छेहरु हुण्डी कारोवारमा संलग्न छन् । मन्त्रीहरु, ठुलठुल्ला व्यापारी घरानाहरुको हुण्डी कारोवारमा संलग्नता छ । कतिपय बैंक, मनिएक्सचेन्ज, आईएमईहरुको अप्रत्यक्षरुपमा त्यसमा संलग्न छन् । तिनिहरु नै हुण्डी कारोबार मार्फत आफ्नो संजाल विस्तार गरेका छन्’ साहले भने ।

विदेशबाट रेमिटेन्स भित्रयाउँने अनुमति पाएका कम्पनीहरूले नै हुण्डी कारोबारमार्फत अवैध अर्थतन्त्रको जालो बढाइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले चाहेको खण्डमा हुण्डी कारोबारलाई नियन्त्रण गर्न कुनै पनि कठिनाइ नरहेको जिकिर उनको छ ।

‘हुण्डी कारोबारको बारेमा यो सरकारको धारणा के हो । हामी त्यो जान्न चाहान्छौं । आज हुण्डी कारोबारले गर्दा देश खोक्रो भईसकेको छ । अर्थतन्त्र तहसनहस छ । भ्रष्टाचार दिनदहाडै बढिरहेको छ । कालो धनलाई सेतो बनाउने प्रयास भएपछि भ्रष्टाचार बढिरहेको छ । अपराधका घटनाहरु हुण्डी कारोबारले बढाउँदै लगेको छ । लागु औषध र सुन क्वीन्टलका क्वीन्टल भित्रिरहेको छ’ उनले भने ।

अध्यक्ष साहले हुण्डी कारोबारलाई नेपालको संविधानले गम्भीर अपराधको रुपमा लिएको बताए । उनले सरकारले चाहेको खण्डमा हुण्डी कारोबार नियन्त्रण गर्न सकिने बताए । ‘नेपालको खर्बौ रुपैँया विदेश गइरहेको छ । विदेशमा रहेका नेपालीले पैसा पठाएको खवर घरमा नपुग्दै पैसा झिकेर व्यक्तिको हातमा परिसकेको हुन्छ । त्यो खालको हुण्डी कारोबारको डरलाग्दो संरचना बनिरहेको छ । यसलाई नियन्त्रण गर्न सरकारले किन चाहेको छैन’ उनले भने ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -