Thursday, July 25, 2024
घरक्राइम चेकआज जे छ, भोलि नहुन सक्छ

आज जे छ, भोलि नहुन सक्छ

– ललितध्वज खड्का

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक संजालमा प्रधानमन्त्री प्रचण्डलाई इंगित गर्दै लेखेका थिए- “चर्चित भनाई छ- केहिलाई सधैं भरी ठग्न सकिन्छ, सबैलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैं भरी ठग्न सकिन्न। सन्दर्भ बुझौँ ।”

त्यसको दुई दिन पछि अर्को व्यंग्य गरेका थिए – सम्राटको नयाँ लुगा कथाको वादशाह त नाङ्गै छन् । सन्दर्भ उल्लेख गरेका थिए। लगातार एक पछि अर्को व्यंग्य गर्दै पुनः असार बीस गते ट्वीट गरे- कसैलाई माया गर्नु हैन (कुर्सी) लाई माया गर्नु एउटा भुल गरें मैले भन्ने तथ्यपरक होला ।

डा. भट्टराईको असन्तुष्टी पनि तथ्यपरक नै छ। परिवर्तनका खातिर प्रचण्डसँग काँधमा काँध मिलाएर, ज्यान हत्केलामा राखेर हिँडेका सहयात्रीहरु मध्ये एक जना पटक पटक सत्तामा आसिन हुन डा. भट्टराई भर्र्याङ् बनेका थिए। स्वार्थपूर्ति पश्चात् गलहत्याइए। सत्ता मोहले गर्दा जनयुद्धका सहकर्मीहरुलाई पखा लाग्न बाध्य पारेर एकलौटी राज गरे । मोहन बैद्य, सिपि गजुरेल समूह, डा. भट्टराई, नेत्र बिक्रम चन्द, गोपाल किराँती, जस्ता अगुवा नेताहरु प्रचण्डबाट ठगिएको मान्न सकिन्छ।

संसदमा आफ्नो दलको बत्तीस अंकको जादुई नम्बर रहेको हुँदा पाँचै वर्ष प्रधानमन्त्री हुने सम्भावना देखेका चाटुकार क्षणभंगुर भए। जादुई नम्बरले अब काम गर्दैन । जादुई नम्बर खोटो सिक्कामा परिणत हुन पुग्यो । जादु गर्ने नम्बर माओवादीसँग छँदै थिएन र छैन पनि । प्रचण्डले आफ्नै पिठ थप्थपएका थिए। कार्यकर्ताको मनोभावनालाई दिग्भ्रमित गराएका मात्र थिए। प्रचण्ड सहित अन्य साना दलको उद्देश्य एउटै मात्र थियो सत्ता, सत्ता अनि सत्ता । साना दल पनि सत्ता मोहको चास्नीमा चुर्लुम्म डुबे। सत्ता लिप्साले मूल बाटो छाडी विनाशको बाटो पहिल्याउँदाको परिणाम अहिले भोग्दै छन् ।

आफू रहुन्जेल राजनीतिमा उथलपुथल भइरहने अभिव्यक्ति प्रचण्डले भन्दै आए अन्तत: चोक्टा खान गाको बुढी झोलामा डुबेर मरि भन्ने उखान अहिले माओवादी पार्टी, रास्वपा, असोक राईको पार्टी, नाउपा र जनमत पार्टीमाथि लागु भएको छ । जनताले दिएको अभिमतलाई लत्याएर च्याखे थाप्दै पटक पटक सत्ता हत्याउँदाको परिणाम हो अहिले को अवस्था।

सैद्धान्तिक राजनीतिलाई पछ्याउनेले पार्टी गन्तब्यहिन वा समाप्तिको बाटो रोज्दैन । माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य साना दलले पार्टीको अस्तित्व जोगाउन भरमगदुर प्रयास गर्छन्, गर्नु पनि पर्छ । नेताकार्यकर्ताहरु माझ सक्षम छौँ भनी आश्वासन दिनु नेताको धर्म हो। रबि लामिछानेले के गर्छन् भन्न सकिन्न तर प्रचण्ड चुपचाप बस्न सक्दैनन् । अस्थिर मनले केही न केहीको प्रयास जरुर गर्लान् । सत्तासिन हुन राप्रपाले बोकेको एजेन्डा राजसँस्था प्रचण्डले बोके भने अन्यथा मान्नु पर्दैन। कुनै बेला राष्ट्रपति भन्दा त बरु राजा नै ठिक थिए पनि भनेकै हुन्।

चौरासीमा हुने चुनावको थ्रेट रोक्नका लागि पनि काङ्ग्रेस एमाले गठबन्धन गरिएको मापन गर्न सकिन्छ। खुद्रे र झिना मसिना पार्टीहरुलाई निस्तेज गरेर दुई दलीय व्यवस्था लागू गर्ने लाइनमा एमाले काङ्ग्रेस छन् । अभिष्ट पूरा होला नहोला समयले निर्धारण गर्छ। आलो पालो प्रधानमन्त्री पद बाँड्फाँड र संविधान संशोधन गर्ने सहमति गरेका दुई प्रमुख दलबीच सहकार्य सहज तवरले अघि बढ्नेमा विश्वस्त हुने आधार देखिँदैन । ओलीले सहजै देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्लान र ? प्रश्न जनमानस माझ रहेको छ।

नेपाली राजनितिमा ओली चतुर खेलाडी हुन् । देउवालाई सत्ता हस्तान्तरण गर्नु अगाबै कम्युनिस्ट एकता गरेर पुरै अवधि सत्तामा बस्ने ध्येय हुन सक्छ। ओलीको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गरि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा संविधान संशोधन सुझाव आयोग गठन हुने सहमति दुई दलबीच भएको छ। संविधान संशोधनको बिकल्प पनि छैन। यो संविधानले मुलुक अघि नबढ्ने प्रष्ट छ। संशोधन गर्नु पर्ने प्रमुख विषय मध्ये पहिलो- मिश्रित निर्वाचनलाई प्रणाली मध्ये समानुपातिक निर्वाचन प्रणाली होस् । यसो गर्दा योग्य ब्यक्ति पैसा नभएर उम्मेदवार हुनबाट बन्चित हुन पाउँदैन। उम्मेदवारले चुनाव ताका पाँच देखि पन्ध्र करोड सम्म खर्च गरेको सुनेकै हो।

दोश्रो- सनातन हिन्दु अधिराज्य र राजसंस्था होस् । बयासी प्रतिशत सनातन बाहुल्यता रहेको नेपाल र सांस्कृतिक परम्परा र धरोहरको पहिचान हो राजसंस्था । राष्ट्रप्रमुख संवैधानिक राजा हुँदा विदेशी शक्तिको क्रिडास्थल बन्द हुनेछ ।

तेश्रो – प्रधानमन्त्रीको पद प्रत्यक्ष निर्वाचित प्रणाली उपयुक्त हुनेछ। प्रदेशमा संख्या घटाइ पुर्ण समानुपातिक प्रतिनिधित्व हुनु पर्छ, संघबाट अधिकार प्रत्यायोजन गरिनु उपयुक्त हुनेछ । बाँकी रहेका अन्य विषयहरु संसदबाटै कानुन निर्माण गरेर टुङ्ग्याउँदा नागरिकमा राम्रै सन्देश जान्छ।

अन्तमा समय सान्दर्भिक अकबर बिरबलको एउटा रोचक कथा यहाँ उल्लेख गर्न उपयुक्त लाग्यो। विषय- हिजो आज र भोलि… अकबरको दरबारमा सभा चलिरहेको थियो। अकबरले सभामा आफ्नो जिज्ञासा घोषणा गरे जस्ले मेरो प्रश्नको उत्तर दिन्छ उसले ठूलो रकम पुरस्कार स्वरूप पाउनेछ । पहिलो प्रश्न – यस्तो के हो, जो आज पनि छ र भोलि पनि रहनेछ ? दोश्रो प्रश्न- यस्तो के हो- जो आज पनि छैन भोलि नि हुँदैन? तेश्रो प्रश्न- यस्तो के हो – आज त छ भोलि हुँदैन?

यी तीन प्रश्नको उत्तर उदाहरण सहित दिन सभामा भएका विद्वानहरुलाई मुस्किल पर्यो, सबै मौन बसे । यसै बखत बिरबलले भने – हजुर ! सरकारको प्रश्नको उत्तर म दिन सक्छु, तर यसको लागि हजुर मसँग शहर जानू पर्छ। अनि मात्र सहि ढंगले जवाफ पाइन्छ। अकबर बिरबलको कुरामा सहमत भए। अकबर र बिरबल दुबैले दरबारी ठाँट छाडि साधारण सुफि भेषमा शहरतिर लागे। घुम्दै जाँदा एउटा पसलमा छिरे । पसले साहुलाई बीरबलले भने- हामीलाई बच्चाहरु पढाउन स्कुल बनाउनु छ तसर्थ एक हजार सहयोग गर । पसलको साहुले तुरुन्तै कामदारलाई एक हजार दिन भने। साहुको कुरा सुनेर बिरबल भन्छन – जब तिम्रो एक हजार लिन्छु तब तिम्रो टाउकोमा एक रुपैया बराबर एक जुत्ता हान्छु, भन तयार छौ ? बिरबलको कुराले कामदार रिसायो र आक्रमण गर्न खोज्यो। साहुले कामदारलाई रोक्दै भन्यो। म तयार छु तर एउटा शर्त छ। तपाई मलाई बिस्वस्त बनाउनुस मेरो यो पैसा नेक कार्यमा लगाउने छौ । यत्ति भने पछि पसले साहु टाउको झुकाएर बस्यो र जुत्ता हान्न भन्यो । अकबर- बिरबल केही नबोली पसलबाट निस्के ।

अकबर- बिरबल चुपचाप हिँडिरहेका थिए । मौनता तोड्दै बिरबलले भने-जहाँ पना !पसलमा जे भयो, त्यस्को मतलब हो- पसले साहुसंग आज जे छ त्यो पूण्य कार्यमा लगायो भने भोलि नाम रहन्छ। पुण्य कार्य गरे बापत स्वर्गमा आफ्नो स्थान सुरक्षित राख्न चाहन्छ । उसको साथमा आज जे छ भोलि पनि साथै रहन्छ। यो हजुरको पहिलो उत्तर हो जहाँपना।

घुम्दै जाँदा दुई जना एक जना भिखारी कहाँ पुगे । एकजना दानी भिखारीलाई आवश्यकता भन्दा बढी खानेकुरा दिँदैथ्यो। त्यो देखेर बीरबलले आफुहरु भोकै भएको हुँदा केही खाने कुरा दिन भिखारी समक्ष अनुरोध गरे । भिकारीले दिन इन्कार गर्छ । अकबर र बीरबललाई त्यहाँबाट लखेट्छ । बिरबलले अकबरलाई भने – जहाँपना यो हजुरको दोश्रो उत्तर हो। यो भिकारी भगवानलाई खुशी राख्न जान्दैन । यसको मतलब हो। योसँग आज ज छ भोलि हुँदैन। तेश्रो प्रश्नको जवाफ खोज्दै जाने क्रममा दुबैले एकजना तपस्वी रुख मुनि बसेर ध्यान गरेको देखे। तपस्बीको नजिक पुगेर केही पैसा राखे। पैसा देखेर तपस्वीले भने यो पैसा मेरो अगाडिबाट हटाउ । मेरो लागि यो बेईमानको पैसा हो। यस्तो पैसा मलाई चाहिँदैन।

बीरबलले भने -जहाँपना यसको मतलब तपस्बीसँग अहिले छैन तर भोलि हुनसक्छ । तपस्वी सबै सुख त्यागिरहेको छ। तर भोलि सबै सुख प्राप्त हुनेछ।

जहाँपना चौथो मिसाल हजुर हुनुहुन्छ । पूर्वजन्ममा हजुरले गर्नु भएको पूण्य कर्मकै कारण आज शान सौकतले जीवन यापन गरिरहनु भएकोछ । कुनै वस्तुको कमि छैन। यदि हजुरबाट यसै गरि इमानदारीता र न्यायप्रीयताका साथ शासन संचालन जारी राख्नु भयो भने भोलि पनि हजुरसँगै रहन्छ। तर हजुरले बाटो बिराउनु भयो भने भोलि साथमा केहि रहँदैन। नेपाली राजनितीमा बाटो बिराएका नेताहरुले मनन गरून् – आज जे छ भोलि केही नहुन सक्छ। चेतना भया।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -