काठमाडौं / हालै विवादमा आएको टेलिभिजिन शाे ‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले उक्त कार्यक्रम र हालकी प्रस्तोतामाथि टिप्पणी गरेका छन्।
‘मैले निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भयो, ‘ सुरजले सामाजिक सञ्जालमा लेखेका छन्। साथै उनले आफूलाई दर्शकहरूले वर्षौंदेखि देखाएको माया र साथका लागि आभार व्यक्त गरेका छन्। अबका दिनमा अझै रमाइलोका साथै गर्व गर्नलायक सामग्री ल्याउने प्रतिबद्धतासमेत उनले जनाएका छन्।
सुरज मात्र होइन, यतिबेला कार्यक्रमकी प्रस्तोता सिटौला र गेस्ट बनेर पुगेका अभिनेत्रीद्वय: स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको चौतर्फी विरोध भइरहेको छ। कार्यक्रममा उठाइएको विषयवस्तुलाई लिएर उनीहरूको चर्को आलोचना भइरहेको हाे।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रममा आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको सुरजले टिप्पणी गरेका छन्। यसका साथै उनले कान्तिपुर टिभी र ‘इट्स माइ शो’ सँग हाल आफ्नो कुनै संलग्नता नरहेको पनि उनले स्पष्ट पारेका छन्।
‘भर्खरै कान्तिपुर टिभीमा सुरजसिंह ठकुरीसँग इट्स माइ शोको सम्बन्धलाई लिएर केही अन्योल भएको छ। म स्पष्ट गर्न चाहन्छु- म अब कुनैपनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा’, उनले लेखेका छन्।
यता, कार्यक्रमका गेस्ट स्वस्तिमा र साम्राज्ञीले सम्बन्धित व्यक्तिसँग माफि मागिसकेका छन्। कार्यक्रम प्रस्तोताको भने कुनै प्रतिक्रिया आएको छैन। कान्तिपुरले पनि उक्त कार्यक्रम युट्युवमा यथावत् राखेको छ।